काठमाण्डौ । दक्षिण कोरियाले ३ हजारबढी नेपाली श्रमिक लैजाने तयारी गरेको छ । पानी जहाज बनाउने काम ‘सीप बिल्डिङ’ मा नेपाली श्रमिक लैजाने भएको हो ।
रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत नै दक्षिण कोरियाले सीप बिल्डिङको काममा नेपाली श्रमिक लैजाने तयारी भएको हो । त्यसका लागि अबको केही दिनमा नै सूचना जारी हुने कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए ।
अहिले रोस्टरमा नाम भएका ८९२ जनाको छनौट प्रक्रिया भइरहेको छ । अबको केही दिनमा नै थप २५ सय जनाको आवेदन माग हुने निर्देशक कटुवालले दिए ।
सीप बिल्डिङको क्षेत्रमा पनि श्रमिक छनौटको प्रक्रिया अन्य क्षेत्रमा जाने श्रमिकको जस्तै हुनेछ ।
यसअघि कृषि तथा पशुपालन र उत्पादन क्षेत्रमा श्रमिकहरू इपीएस प्रणालीमार्फत दक्षिण कोरिया गइरहेका छन् । इपीएस प्रणालीमार्फत दक्षिण कोरियामा रोजगारीका लागि जाँदा भाषा परीक्षा र सीप परीक्षण दुवैमा पास हुनुपर्छ ।
