• शनिबार, साउन ९ २०८३

एनआरएनएको आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमनमा हुने, नेपालबाट को को जादैछन् ?


बिहिबार, जेष्ठ ३२ २०८०
1.3K
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन अग्रेंजी महिना जुनको अन्तिम साता हुने भएको छ । सम्मेलनबारे जानकारी दिन बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित जुन २८ देखि ३० तारिखसम्म आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आयोजना गरिने जानकारी दिइएको हो ।

गैरआवासीय नेपाली संघको मध्य पूर्व क्षेत्रीय परिषदको मुख्य आयोजना र राष्ट्रिय समन्वय परिषद ओमानको अतिथ्यतामा ओमानको मस्कटस्थित होटेल मस्कट होलिडेमा सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा नेपाल सरकारका तर्फबाट प्रमुख अतिथिको रूपमा माननीय, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, विशेष अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालगायतको उपस्थिति रहनेछ ।

मुख्यतया, मध्यपूर्वमा रहेका नेपाली श्रमिकका सवाल, राष्ट्रिय अर्थतन्त्रमा ओझेलमा परेको उनीहरुको योगदान, श्रमिक र उनीहरुका परिवारको जीवनमा तात्विक परिवर्तन हुन नसकेको परिस्थिति, वैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभाव, सुरक्षित आप्रवासन, नीति तथा कार्यान्वयन, मध्यपूर्वमा कार्यरत श्रमिकको स्वास्थ्य, अनिवार्य सामाजिक सुरक्षा लगायतका मुख्य एजेन्डामा छलफल हुनेछ ।

सम्मेलनले वैदेशिक रोजगारीमा जाने नेपालीको जनचेतना वृद्धि र विदेशमा सिकेका ज्ञान तथा सीपलाई मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ ।

विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैंकको स्थापना, कामदार र सरकारी निकायबीच समन्वय, वैदेशिक रोजगारीमा गएकाको लागि सञ्चयकोषको व्यवस्था गर्न यस सम्मेलनले नेपाल सरकारको ध्यानाकर्षण गराउनेछ ।

सम्मेलनमा गैरआवासीय नेपाली समुदायको आवाज उठाउने र उनीहरूका समस्याहरूको समाधानका लागि नेपाल सरकारसँग संवाद स्थापित गर्ने उद्देश्यले राखिएको छ ।

श्रमिकका मुद्दा सम्बोधनका लागि नेपाल सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गर्न लागिएको यो सम्मेलन पूर्णतः श्रमिक केन्द्रित हुने भएकोले उनीहरुका अभिव्यक्ति, अनुभव र विचार व्यक्त गर्ने अवसर समेत प्रदान गरिनेछ । समग्र युवा तथा महिलाका मुद्दालाई समेत प्राथमिकता दिइने सम्मेलन पूर्ण रुपमा समावेशी हुनेछ । सम्मेलनमा मध्यपूर्वसहित विभिन्न मुलुकका करीब ५०० जना प्रतिनिधिको सहभागिता रहने अनुमान छ ।

मध्यपूर्व क्षेत्रीय सम्मेलनमा कतार, साउदी अरब, ओमन, यूएई, इराक, बहराइन र कुवेतका गैर आवासिय नेपालीले भाग लिनेछन् ।

पत्रकार सम्मेलनमा एनआरएनए अध्यक्ष बद्री केसी, कुल आचार्य, उपाध्यक्ष डिबी क्षेत्री, आरके शर्मा, महेश श्रेष्ठ, नरेन्द्र भाट, युवा उपाध्यक्ष राज रेग्मी, महिला उपाध्यक्ष यास्मीन बेगम सैयाद, सचिव प्रविन गुरुङ, सहकोषाध्यक्ष होमनाथ शर्मा, एनआरएनएका युवा संयोजक अब्दुल वासिद, मध्यपुर्व संयोजक मनोज गोर्खाली, राजेन्द्र अर्याल जोन लगायतले बोलेका थिए ।

प्रेस विज्ञप्ति

नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु गैरआवासीय नेपाली अभियान २० औँ वर्षमा अनवरत रुपमा अघि बढीरहेको छ । विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ ९एनआरएनए० स्थापना भएको थियो । हाम्रा अग्रजहरुको अथक प्रयास र समर्पणले गैरआवासीय नेपाली संघ देश विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्र बन्दै आएको छ । स्थापनाको २० वर्षको अवधिमा ८६ देशमा औपचारिक सञ्जालको विस्तार गरेर विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एउटै मालामा जोड्न संघ सफल भएको छ । यस अवधिमा गैरआवासीय नेपाली नागरिकता, विदेशमा बस्ने नेपालीका लागि मताधिकार सामाजिक सुरक्षा कोष, सुरक्षित आप्रवासन लगायत आप्रवासी कामदारहरुसँग जोडिएका हाम्रा केही मुद्दाहरु सम्बोधन भएका छन् र अन्य केही सम्बोधन हुने क्रम जारी छ ।

संघले आफ्नो स्थापना कालदेखि सुरक्षित आप्रवासन, सामाजिक सुरक्षा कोष लगायत विदेशमा बस्ने श्रमिकको हक अधिकार लगायतका विषयमा आवाज उठाउँदै आएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र सम्मानित बनाउन समयानुकुल परिवर्तन र परिमार्जनका लागि नेपाल सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएको विदितै छ । संघको लामो समयदेखिको पहल र पैरवीको प्रतिफल भन्नुपर्छ भर्खरै मात्रै नेपाल सरकारले वैदेशिक रोजगारी र स्वरोजगारमा रहेका नेपालीहरुलाई समेत योगदानमा आधारित साामाजिक सुरक्षा कोषमा आबद्ध गर्न सुरु गरिसकेको छ । यद्यपी अझै विदेशमा रहेका नेपाली श्रमिकका मुद्दाहरु थुप्रै छन् । विशेषतः मध्यपूर्वमा रहेका बहुसंख्यक नेपाली श्रमिकका समस्या असरल्ल छन् । मुलुकमा भित्र्ने कुल विप्रेषण मध्ये झन्डै ६० प्रतिशत भन्दा बढी विप्रेषण भित्र्याउन योगदान गर्ने यस क्षेत्रका बहुसंख्यक नेपाली श्रमिकको पीडा सम्बोधन हुन सकेको छैन ।

यसै सन्दर्भमा, ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित यही जुन २८ देखि ३० तारिखसम्म गैरआवासीय नेपाली संघको मध्य पूर्व क्षेत्रीय परिषद्को मुख्य आयोजना र राष्ट्रिय समन्वय परिषद् ओमानको अतिथ्यतामा ओमानको मस्कटस्थित होटेल मस्कट होलिडेमा आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आयोजना गर्दैछौँ ।

मुख्यतया, मध्य पूर्वमा रहेका नेपाली श्रमिकका सवाल, राष्ट्रिय अर्थतन्त्रमा ओझेलमा परेको उनीहरुको योगदान, श्रमिक र उनीहरुका परिवारको जीवनमा तात्विक परिवर्तन हुन नसकेको परिस्थिति, वैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभाव, सुरक्षित आप्रवासन नीति तथा कार्यान्वयन, मध्यपूर्वमा कार्यरत श्रमिक र उनीहरुको परिवारको मानसिक तथा शारीरिक स्वास्थ्य, मध्यपूर्वमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका नेपालीको मताधिकार, वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमूलक तालिम, फर्केर आएका युवा–युवतीका लागि उद्यममा लाग्न प्रोत्साहन तथा समाजमा पुनःस्थापना, पुर्नएकीकरण र समायोजन, सामाजिक सुरक्षा कोषमा आबद्धता, अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी लगायतका मुख्य एजेन्डामा छलफल हुनेछ ।

यसका साथै, सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली माझ स्थानीय भाषा र कानूनमा ज्ञानको कमी तथा सूचना अभावलगायत विविध कारणले जेलजीवन बिताउनु परेको र काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परी अंगभंग भएका श्रमिकका समस्या निराकरणका लागि सुझाव दिनेछ । वैदेशिक रोजगारीमा जाने नेपालीको जनचेतना वृद्धि र विदेशमा सिकेका ज्ञान तथा सीपलाई मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ । विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैंकको स्थापना, कामदार र सरकारी निकायबीच समन्वय, वैदेशिक रोजगारीमा गएकाको लागि सञ्चयकोषको व्यवस्था गर्न यस सम्मेलनले नेपाल सरकारको ध्यानाकर्षण गराउनेछ । सम्मेलनमा गैरआवासीय नेपाली समुदायको आवाज उठाउने र उनीहरूका समस्याहरूको समाधानका लागि नेपाल सरकारसँग संवाद स्थापित गर्ने उद्देश्यले राखिएको छ ।

श्रमिकका मुद्दा सम्बोधनका लागि नेपाल सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गर्न लागिएको यो सम्मेलन पूर्णतः श्रमिक केन्द्रीत हुने भएकोले उनीहरुका अभिव्यक्ति, अनुभव र विचार व्यक्त गर्ने अवसर समेत प्रदान गरिनेछ । समग्र युवा तथा महिलाका मुद्दालाई समेत प्राथमिकता दिइने सम्मेलन पूर्ण रुपमा समावेशी हुनेछ । सम्मेलनमा मध्यपूर्वसहित विभिन्न मुलुकका करीब ५०० जना प्रतिनिधिको सहभागिता रहने अनुमान छ ।

सम्मेलनमा नेपाल सरकारका तर्फबाट प्रमुख अतिथिको रूपमा माननीय,उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, विशेष अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारी, राजनैतिक दलका नेताहरू, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, सरोकारवाला मन्त्रालयका सचिव , महामहिम राजदुत, अन्य सरोकारवाला निकायका पदाधिकारी, गैरआवासीय नेपाली संघका अध्यक्ष, पूर्व अध्यक्ष, संरक्षक, पदाधिकारी, सदस्य लगायत विभिन्न मुलुकका एनसीसीका प्रतिनिधि, एनआरएनएका अभियन्ता तथा सञ्चारकर्मी लगायतको सहभागिता रहनेछ ।

अन्त्यमा सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न नेपाल सरकार, सरोकारवाला निकाय, समस्त गैरआवासीय नेपाली तथा सञ्चारकर्मीलाई आह्वान गर्दछौँ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार