• आइतबार, साउन १० २०८३

‘सुर्तीजन्य पदार्थको प्रयोग नगरे क्यान्सरको जोखिम ९० प्रतिशत कम हुन्छ’


बिहिबार, जेष्ठ ३२ २०८०
845
Shares

काठमाडौं । सुर्तीजन्य पदार्थको प्रयोग नगरे क्यान्सरको जोखिम ९० प्रतिशत कम हुने डा अरुण शाहीले बताएइका छन् । क्यान्सर रोगको अवस्था र उपचारका बारे सरोकारवालावीचको अन्र्तक्रिया कार्यक्रममा क्यान्सर रोग सचेतनाका लागि सद्भावना दूत समेत रहेका डा शाही यस्तो बताएका हुन् ।

‘अधिकांश क्यान्सरका रोग सुर्तिजन्य पदार्थको प्रयोगले हुन्छ’ उनले भने ‘यसको प्रयोग कम गर्न सके क्यान्सर रोगको जोखिम ९० प्रतिशतले कम भएर जाने हाम्रो अध्ययनले देखाएको छ ।

एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजना र देउराली फाउण्डेसन र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा भएको कार्यक्रममा त्यस्तै डा शाहीले समयमै निदान भए क्यान्सर रोग निको हुने बताए । तर क्यान्सर ढिलो पहिचान भए उपचार जटिल हुने र बिरामीलाई बचाउन गाह्रो हुने उनले बताए।

उनले भने, ‘क्यान्सर सुरुकै अवस्थामा पहिचान गरे निको हुन्छ। तर ढिलो पुगेको अवस्थामा मात्र प्राणघातक रोगको अवस्था सृजना गर्छ।’

सर्जरी, रेडियोथेरापी र किमोथेरापी क्यान्सर रोगको उपचार विधिहरु भएको उनले जानकारी दिए। पुरुषमा फोक्सो क्यान्सर पहिलो नम्बरमा आउने उनले बताए। दोस्रोमा ओठ तथा मुखको क्यान्सर, तेस्रोमा पेट, चौथोमा ल्युकेमिया र पाँचौमा लिम्फोमा क्यान्सर आम देखिएको उनले बताए।

महिलामा पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा रहेको बताउँदै उनले स्तन दोस्रो, फोक्सो तेस्रो, डिम्बाशय चौथो र गलब्लाडरको क्यान्सर पाँचौ नम्बरमा रहेको जानकारी दिए।

‘शहरी क्षेत्रका महिलामा स्तन र ग्रामीण भेगका महिलामा पाठेघरको मुखको क्यान्सर बढी हुने गरेको देखिएको छ’ उनले भने।

यो सँगै माटोपनाको नियन्त्रण, दैनिक शारीरिक व्यायाम गरे र सन्तुलित खाना खाए क्यान्सरको जोखिमबाट बच्न सकिने उनले बताए। कलेजोको क्यान्सरबाट बच्न हेपाटाइटिस बी र पाठेघरको मुखको क्यान्सरबाट बच्न एचपीभी खोप लगाउन डा शाहीको सुझाव छ।

देउराली फाउण्डेशनका अध्यक्ष भिम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारी निर्देशक बुद्धि विश्वकर्मा, स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुंगेल, दलित पत्रकार मञ्चका संस्थापक अध्यक्ष विनोद पहाडी लगायतले बोलेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार