• शनिबार, साउन ९ २०८३

यूएईसँगको श्रम समझदारी ४ बर्षका लागि नवीकरण, नेपालबाट घरेलु कामदार लैजान इच्छुक


बुधबार, जेष्ठ ३१ २०८०
1.3K
Shares

काठमाडौं । नेपाल सरकार र संयुक्त अरब इमिरेट्स (यूएई) बीच द्विपक्षीय श्रम समझदारी ४ वर्षका लागि नवीकरण गर्ने सहमति भएको छ ।

नेपाल सरकार र यूएई सरकारवीच १४ जुन २०१९ मा भएको द्विपक्षीय श्रम समझदारी बमोजिम आज बुधबार काठमाडौंमा भएको तेस्रो संयुक्त बैठकमा यस्तो सहमति भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा भएको बैठकमा दोस्रो बैठकमा भएका समझदारीको कार्यान्वयन तथा प्रगति अवस्थाको समीक्षा भएको छ ।

बैठकमा नेपालको तर्फबाट समितिमा भाग लिने कार्यदलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गरेका थिए ।

बैठकमा द्विपक्षीय समझदारीको पुनरवलोकन हुनुपर्ने, नेपाली श्रमिकहरूलाई यूएईमा न्यूनतम तलवको सुनिश्चितता गर्नुपर्ने, मृत्यु हुने नेपाली श्रमिकहरूको शव सहज रूपमा नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने, जेल तथा कैदमा रहेका नेपाली श्रमिकहरूको विवरण तथा अलेखबद्ध रूपमा यूएईमा रहेका नेपाली श्रमिकहरूलाई आममाफीसहित नेपाल फिर्तीमा सहजीकरण गर्नुपर्ने र नेपाली श्रमिकहरूको सीप स्तरोन्नतिका लागि द्विपक्षीय सहकार्य गर्नुपर्ने विषय नेपालले उठएको थियो ।

नेपाल सरकारको तर्फबाट राखिएका प्रस्तावहरूमा गहन छलफल भई यूएई सरकारका तर्फबाट नेतृत्व गरेका असिस्टेन्ट अन्डर सेक्रेटरी अब्दुल्लाह अल्नुअमीले यूएईको श्रम बजारको अवस्थाबारे जानकारी दिंदै नेपाल सरकारको तर्फबाट राखिएको विषयलाई सम्बोधन गर्न यूएई सरकार सकारात्मक रहेको धारणा राखे ।

उनले नेपालबाट घरेलु कामदार लैजान यूएई इच्छुक रहेको बताउदै सोको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए । बैठकमा नेपाल सरकारको श्रम तथा वैदेशिक रोजगारसम्बन्धी पछिल्ला कानुनहरू बारे पनि यूएईलाई जानकारी दिइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार