गोरखा । जिल्लामा पशुमा देखिएको ‘लम्पी स्किन’ डरलाग्दो रुपमा फैलिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको मंगलबार सम्मको तथ्याङ्क अनुसार लम्पी स्किन रोगका ५८ वटा पशु मरिसकेका छन् ।
११ वटा स्थानीय तह मध्ये उत्तरी गोरखाको चुमनुब्री बाहेका सबै पालिककामा संक्रमण देखा परेको केन्द्रकी प्रमुख शर्मिला कुमालले जानकारी दिइन् । उनका अनुसार जिल्लामा ७ हजार ९ सय ४३ वटा गाई गोरु र ९३ भैसीमा संक्रमण भेटिएको छ । जसमध्ये ५७ वटा गाइगोरु र १ वटा भैसी मरिसकेको कुमालले जानकारी दिइन् ।
धार्चे गाउँपालिकाका ९० गाई गोरुमा संक्रमण देखिएको छ । जसमध्ये १३ वटा गाईगोरु मरिसकेको छ । यस्तै आरुघाट गाउँपालिकामा ४९ गाईगोरु र २ वटा राँगोमा संक्रमण देखिएको भेटेनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्रले जनाएको छ । त्यहाँ ३ गाइगोरुको मृत्यु भइसकेको छ । बारपाक सुलिकोट गाउँपालिकामा ६ सय वटा गाइगोरु र २५ रागो भैंसीमा संक्रमण देखिएकोमा ७ वटा गाईगोरु मरिसकेको उनले बताइन् ।
६९ वटा गाईगोरु संक्रमण भएको अजिरकोट गाउँपालिकामा ३ वटाको मृत्यु भइसकेका छ । यस्तै सिरानचोक गाउँपालिकामा १६५ वटा गाईगोरु र ३५ वटा भैंसीमा संक्रमण देखिएको छ । सो पालिकामा १÷ १ गाईगोरु र भंैसी मरिसकेका छन् ।
यस्तै २८ सय गाईगोरु र १८ वटा भैसीमा संक्रमण देखिएको गण्डकी गाउँपालिकामा १३ वटा गाईगोरु मरिसकेका छन् । यस्तै शहिद लखन गाउँपालिकामा ४१ सय गाईगोरु र राँगो १३ वटा भैसीमा संक्रमण देखिएको छ । जसमध्ये १७ वटा मरिसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले जनाएको छ । यस्तै गोरखा भीमसेन थापा गाउँपालिकामा २५ वटा गाईगोरु र पालुङटार नगरपालिकामा ४५ गाईगोरुमा संक्रमण देखिएको छ ।
गोरखा नगरपालिकाको भने रिपोर्ट आउनै बाँकी भएको प्रमुख कुमालले जानकारी दिइन् । यो संक्रमणको संख्या र मर्नेको संख्या अझै बढ्न सक्ने प्रमुख कुमालको भनाई छ । रोग नियन्त्रणको लागि स्थानीय तहहरुले खोप कार्यक्रम समेत संचालन गरिरहेको उनले जानकारी दिइन् ।
यो रोग झिँगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिन्छ । यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, ¥याल र सिँगान काढ्ने, गर्भिणी पशु तुहिने, बाँझोपनको समस्या देखापर्छ ।