लमजुङ । लमजुङमा जुवा खालबाट पक्राउ पर्नेमा जनप्रतिनिधि, सरकारी शिक्षकदेखि स्वास्थ्यकर्मीसम्म रहेका छन् । लमजुङ प्रहरीले दोर्दी गापा ( ४ नौथर शेरास्थित ए वान रेष्टुरेन्टबाट मंगलबार ७ जना जुवाडेलाई पक्राउ गरेको हो ।
जिप्रकाबाट खटिएको टोलीले शेरास्थित पर्शुराम गुरुङको रेष्टुरेन्टमा बेलुकी ५ बजे हारजितको बाजी राख्दै जुवा ९तास० खेल्दै गरेका ७ जना जुवाडेसहित नगद १ लाख १ हजार ६ सय २५ रुपैँया र १ सय ५२ पत्ती तास बरामद गरेको हो ।
जुवा खालबाट पक्राउ परेकामध्ये लिलबहादुर गुरुङ वडा नं ४ का वडा सदस्य हुन् । यस्तै अर्को प्रेमकुमार राना सोही वडामा रहेको नौथर स्वास्थ्य एकाईका प्रमुख हुन् । यस्तै राम अधिकारी दोर्दी ६ मा रहेको ढोडेनी आधारभूत विद्यालयका स्थायी शिक्षक हुन् । उनी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको नातामा भाइ पर्नेसमेत एक स्थानीयले जनाए ।
पक्राउ पर्ने अन्यमा स्थानीय निलबहादुर गुरुङ, केश राना, कुमार गुरुङ र घरधनी पर्शुराम गुरुङ रहेका छन् । उनीहरुले मोबाइल बैंकिङमार्फत रकम भुक्तानी गरेको भेटिएको प्रहरी निरीक्षक जगदिश रेग्मीले जनाए । उनकाअनुसार आज जिल्ला प्रशासन कार्यालय लमजुङबाट जुवा सम्बन्धी कसुरमा म्याद थप लिई अनुसन्धान अघि बढ्नेछ ।
मुलुकी अपराधसंहिता २०७४, बमोजिम पहिलो पटक जुवा खेल्ने, खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजारसम्म जरिवाना हुने गरी बरामदी रकमसमेत जफत हुने र दोस्रो पटक जुवा खेल्ने, खेलाउनेलाई पटकै पिच्छे थप तीन महिनासम्म कैद वा १० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।