काठमाडौं । प्रवासका नेपालीलाई मतदानको अधिकार दिन सरकारले प्रकृया अघि बढाएको छ । यसअघि सरकारले ल्याएको नीति तथा कार्यक्रममा सो ब्यवस्था संसदबाट पारित भइसकेको छ भने बजेटमा समेत सो बिषयले प्राथमिकता पाएको छ ।
सरकारले विदेशमा रोजगारी तथा बिभिन्न पेश ब्यवसायमा आवद्ध रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन सकरात्मक देखिएपछि निर्वाचन आयोगले त्यसको प्रकृया अघि बढाएको हो ।
जसअनुसार आयोगले आगामी साउनदेखि विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम सङ्कलन प्रक्रिया अगाडि बढाउने भएको छ। जसमा पहिलो चरणमा कतार, युएई, साउदी अरब, बहराइन, कुवेत, मलेसियालगायत देशमा वैदेशिक रोजगारीका लागि गएकाको नामावली सङ्कलन गर्ने आयोगको तयारी छ ।
संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली नागरिकको मतदानको अधिकार सुनिश्चित हुने गरी नयाँ कानुनमा उक्त व्यवस्था समावेश गर्न लागेको जानकारी दिए ।
“नयाँ कानुन नआए पनि विशेष अधिकार प्रयोग गरी नामावलीसम्म आयोगले सङ्कलन गर्न लागेको छ। साउन १ गतेदेखि सम्भाव्य केही देशबाट नामावली सङ्कलन गर्ने आन्तरिक तयारी आयोगले गरिसकेको छ।” उनले भने,
सर्वोच्च अदालतको २०७४ चैत ७ गतेको परमादेशमा जनसङ्ख्याको ठूलो हिस्सालाई मत खसाल्ने अवसरबाटै विमुख गरी गरिने निर्वाचनलाई पूर्ण रूपमा जनअनुमोदित मान्न नसकिने तर्क गरिएको थियो।
तर कानुन अभावमा वैदेशिक रोजगारीमा रहेका नागरिकले मतदान गर्न सम्भव नभएकाले आवश्यक कानुनी र अन्य पूर्वाधार व्यवस्था गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको थियो।