गोरखा नगरपालिका–१० छेवेटारस्थित तारा माविमा अध्यापन गराउँदै आएका दुई शिक्षकलाई अन्यत्र काजमा खटाइएको छ । नगर शिक्षा समितिको आइतवारबसेको बैठकले शिक्षक विनोद पाण्डे र शिवराज पन्तलाई अन्य विद्यालयमा काज सरुवा गर्ने निर्णय गरेको हो ।
नगर शिक्षा शाखाका प्रमुख चन्द्रबहादुर खड्काका अनुसार पाण्डेलाई गोरखानगरपालिका–१ ताप्लेको जनज्योती मावि र पन्तलाई वडा नम्वर १३ को रामशाह माविमाकाज सरुवा गरिएको हो । पाण्डे निमावि तहका विज्ञान शिक्षक हुन् भने पन्त प्रावि तहका ।
गलत आचारणको कारण देखाउँदै ती दुई शिक्षकलाई अन्यत्र सरुवा गरिदिन विद्यालय परिवारले माग गर्दै आएको थियो । पन्तमाथि मादक पदार्थ सेवन गरेर विद्यालय आउने र पाण्डे शिक्षणमा नियमित नहुने आरोप लाग्दै आएको थियो ।
उनीहरुलाई अन्यत्र सरुवा गरिदिन विद्यालय परिवारले गरेको मागप्रति ऐक्यवद्धता जनाउँदै वडा कार्यालयले नगर शिक्षा शाखामा सिफारिस गरेको थियो ।
तर नगर शिक्षा शाखाले ती शिक्षकलाई सोही विद्यालयमा हाजिरी गराउन भन्दै पत्राचार गरेपछि आइतवार विद्यालयका प्रधानाध्यापक, अभिभावक, विद्यालय व्यवस्थापन समिति लगायतको टोली नगरपालिका आएर विरोध गरेका थियो । छलफल पश्चात नगर शिक्षा समितिको बैठक बसेर उनीहरुलाई अन्यत्र सरुवा गर्ने निर्णय गरिएको नगर शिक्षा शाखा प्रमुख खड्काले बताए ।
तारा माविमै दरवन्दी रहने गरी कामकाजका लागि अन्यत्र खटाइएको उनले जानकारी दिए । उनीहरुको सट्टामा तारा माविलाई नगरपालिकाले शिक्षक उपलब्ध गराउने सहमति समेत भएको बताइएको छ ।