काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाली औषधि उद्योगलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन्।
स्वास्थ्य पत्रकार मञ्च नेपालले काठमाडाैँमा आयोजना गरेको ‘नेपाली औषधिको विकास र चुनौती’ विषयक कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले नेपाली औषधि उद्योगलाई आत्मनिर्भरसँगै गुणस्तरीय बनाउनुपर्ने बताए।
सरकार नेपाली औषधि उद्योगलाई सधै संरक्षण गर्न लाग्ने बताउँदै मन्त्री बस्नेतले उद्योगीलाई जनताका लागि राम्रो काम गर्दा गर्दै प्रशासनिक रुपमा झन्झट भएमा उक्त विषय आफू समक्ष ल्याउन आग्रह गरे।
औषधि उद्योगलाई नियमन गर्नुपर्ने भन्दै भएकालाई संरक्षण गर्दै जानुपर्ने उनले बताए । मन्त्री बस्नेतले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रुपमा राखेर जनतालाई सेवा दिने प्रतिवद्धता व्यक्त गरे।
साथै उनले काम गर्ने क्रममा झन्झट भएकोमा त्यसको निरुपणमा आफू लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
‘तपाइले देश कालागि जनताका लागि राम्रो काम गर्दागर्दै बढी दुख पाउनुभयो भने त्यो पनि कुनै व्यक्तिका कारणले भने म त्यसो हुन दिन्न तर नीति गत कुरा हो भने त्यसमा सबै पक्षको साथ र सहयोग आवश्यक पर्छ मैले एक्लै सक्ने कुरा भएन तर स सधैँ प्रयासरत भने रहन्छु ’ उनले भने ।
उनले नेपाललाई औषधी उत्पादनमा आत्मनिर्भर बनाउन सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाए ।
हाल नेपालमा ८३ वटा उधाेगले औषधि उत्पादन गर्दै आएका छन् ।
कार्यक्रममा औषधी उत्पादक सङ्घका पूर्व अध्यक्ष दीपक प्रसाद दाहालले नेपालमा औषधी उत्पादनको विकासक्रम र सम्भावनाबारे प्रकाश पारे ।
कार्यक्रममा औषधि उत्पादक संघका पूर्व अध्यक्ष दीपकप्रसाद दाहालले नेपालमा औषधि उत्पादनको इतिहासबारे जानकारी गराएका थिए। उनले नेपाली औषधि उद्योगले समस्यामा रहेको भन्दै नेपाललाई औषधिमा आत्मनिर्भर गराउन नेपालमै उत्पादन भएका औषधि आयात बन्द गर्नुपर्ने बताए।
दाहालले औषधिमा आन्तरिक र बाह्य चुनौतीका विषयमा कार्यक्रममा औषधि उत्पादक कम्पनीहरुका तर्फबाट प्रस्तीकरण गरेका थिए ।
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले नेपाली औषधि उद्योगलाई प्रर्वद्धन गर्न भएका ऐन तथा नियमावली कार्यान्वयन गर्नुपर्ने बताए। ढकालले सरकारले तय गरेका नेपाली औषधि प्रवर्द्धनका सबै नीति नियमहरु कार्यन्वयन गर्न नसकिएको बताए।
कार्यक्रममा औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले नेपाली औषधि गुणस्तरयुक्त रहेको दावी गरे। पाण्डेले आयातीत सामानलाई मात्रै विश्वास गर्ने नेपाली प्रवृत्तिले नेपाली औषधि उधोग फस्टाउन नसकेको बताएका थिए।
कार्यक्रमको उदेश्यबारे प्रकाश पार्दै स्वास्थ्य पत्रकार मन्चका अध्यक्ष सरोज ढुंगेलले नेपाली उद्योगले भोगिरहेका समस्या र चुनौती अनेक भएकाले उद्योगी र सरोकारवाला निकाय एकै ठाउँमा बसेर यस क्षेत्रका विकासबारे छलफल गर्न यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए। ढुङ्गेलले नेपालमा उद्योगको विकास गरी स्वदेशमै रोजगारी सिर्जना गर्न सबैले हातेमालो गर्नुपर्ने बताए ।