• शनिबार, साउन ९ २०८३

अस्पतालहरुमा पिउने पानी र सरसफाईको राम्रो प्रबन्ध मिलाउनु: स्वास्थ्य मन्त्रालय


शुक्रबार, जेष्ठ २६ २०८०
1.3K
Shares

काठमाडौं । देशभरका अस्पतालहरुमा पिउने पानी र सरसफाईको राम्रो ब्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीले शुक्रबार विज्ञप्ति जारी गर्दै संघ, प्रदेश र स्थानीय तह मातहातका सबै अस्पतालहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत सहित मन्त्रालयका अधिकारीहरुले विभिन्न सरकारी र निजी अस्पतालहरुमा गरेको निरीक्षणका क्रममा अस्पतालहरुमा स्वच्छ खानेपानी र सरसफाईको उचित व्यवस्थापन नभएको पाइएकाले उचित प्रवन्ध मिलाउन मन्त्रालयले निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले उपत्यकाका वीर, शहिद गंगालाल, मेडिकेयर र उपत्यका बाहिर हेटौडा अस्पताल सहित अस्पतालको अनुगमन गरेका थिए ।

यसका साथै अस्पतालहरुमा शल्यक्रिया पश्चात विरामी राख्ने वार्डहरुमा उचित तापक्रमको व्यवस्थापनमा पनि हरेक अस्पतालले ध्यान दिनु पर्ने मन्त्रालयले अस्पतालहरुलाई स्मरण गराएको छ ।

गर्मी मौषममा सर्पदंश, आगलागी, झाडापखाला, डंगी र विपद्जन्य समस्या आइपर्दा तत्कालै विरामीलाई उपचार सेवा पुर्याउन सक्ने गरि आवश्यक औषधि, उपकरण र चिकित्सकको व्यवस्था गर्न समेत सबै अस्पतालहरुलाई निर्देशन दिएको छ ।

गर्मीको बेला विभिन्न सरुवा रोगको प्रकोप फैलन सक्ने संभावनालाई ध्यानमा राखेर रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिने उपाय स्वरुप स्थानिय स्तरका रेडियो, एफएम र पत्रपत्रिका मार्फत जनचेतनामूलक सूचना सम्प्रेषण गर्न समेत अस्पतालहरुलाई आग्रह गरेको छ ।

हरेक अस्पतालले उपचारका लागि विशेषज्ञ चिकित्सक सहितको प्रभावकारी उपचार सेवा प्रदान गरि आम नागरिकको जिवन रक्षामा चौबिसै घण्टा स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले मातहतका संघिय, प्रादेशिक र स्थानिय अस्पतालहरुलाई निर्देशन दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार