• आइतबार, साउन १० २०८३

बिएण्डबी अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्त आन्दाेलित


शुक्रबार, जेष्ठ २६ २०८०
1.6K
Shares

काठमाडौँ । बुधबार धादिङमा दुर्घटनामा परेका गोविन्द ढुङ्गानाको लापरवाहीको कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले ललितपुरको बिएण्डबी अस्पताल घेराउ गरेका छन् । अस्पतालले लापरवाही गर्दा बिरामीको मृत्यु भएको आफन्तको आरोप छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका ५, चारघारेस्थित पृथ्वी राजमार्गमा नीलकण्ठ नगरपालिका–५ का ढुङ्गाना सवार बागमती प्रदेश ०२–०१६प २१३९ नम्बरको स्कुटरलाई ना १६ प २६२१ नम्बरको मोटरसाइकलले बुधबार अपरान्ह ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका नीलकण्ठ न.पा.५ धादिङका गोविन्द ढुङ्गाना तथा उनकी श्रीमतीको उपचारका लागि ललितपुरस्थित बिएण्डबी अस्पताल ल्याइएको थियो । दुर्घटना पश्चात प्राथमिक उपचार गरी काठमाडौं पठाइएका ढुङ्गानाको बिहीबार बिहान ५ बजे बिएण्डबी अस्पतालमा मृत्यु भएको थियो ।

श्रीमतीको बाहिरी चोटमात्रै देखिएको कारण बुधबार राती नै टाँका लगाएर डिस्चार्ज गरिएको थियो । गोविन्दको कुममा चोट देखिएको कारण सामान्य अप्रेसन गर्नुपर्ने भनिए पनि सिटी स्क्यान भने गरिएको थिएन ।

सामान्य हिँडडुल बोलचाल गर्न सक्ने भएकाले सामान्य घाइते भन्दै अस्पतालले उपचारमा चासो नदिएको आफन्तको आरोप छ । बिहीबार बिहान ५ः१० बजे ढुङ्गानको मृत्यु भएपश्चात अस्पतालले गोविन्दको मृत्युको कारण हृदयघात भनी रिपोर्ट दिएको थियो । तर बिरामीका आफन्तलाई चित्त नबुझेर उनीहरुले पाटन अस्पतालमा लगी पोष्टमार्टम गराउदा पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण आन्तरिक रक्तश्राव र सर्भाइकल इञ्जुरी रहेको रिपोर्ट दिएको थियो ।

सडक दुर्घटनाका बिरामीको सिटी स्क्यान अनिवार्य शर्त हो । बिरामीलाई भएको समस्याबारे समयमै जानकारी हुन नसक्दा आन्तरिक रक्तश्रावका कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ । मृतकका परिवारले अस्पतालको लापवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै उपचारमा संलग्न डाक्टरलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार