काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले आगामी बर्षको बजेटले मुस्लिम समुदायलाई उपेक्षा गरेको दुखेसो गरेको छन् ।
बुधबार प्रतिनिधी सभा बैठकमा बोल्दै सांसद शाहले सयौबर्षदेखि नेपालमा बसोबास गर्दै आएका मुस्लिम समुदायलाई बजेटले उपेक्षा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
देशको हरेक परिवर्तनका आन्दोलन होस या बलिदानमा मुस्लिम समुदायको समेत योगदान रहेको बताउदै उनले धार्मिक धरोहरको संरक्षणमा सरकार उदासिन रहेको बताए ।
‘गोरखा राज्य एकिकरण थाल्दाका मुस्लिम हुन् या तराई भुभागमा सिमा रक्षा गरिरहेका धर्तीपूत्र मुस्लिम, हामीले यो देशको हरेक आन्दोलन र परिवर्तनमा आफ्नो भुमिका निभाएका छौ र यो देशको हामीलाई उत्तिकै माया छ जति अरुलाई छ’ संसदमा बोल्दै उनले भने ‘तर बजेट विनियोजन गर्दा चाँही संवैधानिक मर्म र हाम्रो ऐतिहासिक महत्व र भुमिका ख्याल नराखेको जस्तो देखियो ।’
त्यस्तै उनले हरेक धर्म र समुदायको धार्मिक धरोहरको संरक्षणमा बजेट विनियोजन भएपनि मुस्लिम समुदायलाई भने उपेक्षा गरिएको उनको भनाई छ ।
‘सरकारले बजेटको बुदा नम्बर १७९ देखि १८८ सम्म बिभिन्न धार्मिक एवं ऐतिहासिक र साँस्कृतिक सम्पदाहरुको संरक्षण र भूकम्पले भत्किएको संरचनाको पुननिर्माणको कुरा गर्यो’ उनले थपे ‘तर सरकारले भत्किएको मन्दिर देख्यो, गुम्बा देख्यो तर मस्जिद नदेख्दा चाही मन अलि खिन्न भयो ।’
हाल नेपालमा रहेका मदरसाहरुको भौतिक संरचनाहरु र तिनमा पढ्ने विधार्थीहरुको अवस्था निकै दयानीय रहेको, मदरसामा सरकारले दिने अनुदान कम भएको र मौलानाहरुलाई प्रधानाध्यापक हुनबाट समेत बञ्चित हुनेगरी मापदण्ड बनाइएकाले सच्याउन समेत उनले माग गरेका छन् ।