गोरखा । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पालुङटार नगरपालिकाले फरक अभ्यासको थालनी गरेको छ ।
नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक स्तर वृद्धिका लागि पालुङटारले नयाँ र फरक शैलीमा ७२ घण्टे उपचारात्मक कक्षा सञ्चालन सुरु गरेको हो ।
कोरोना सङ्क्रमणको जोखिमका बेला र अन्य विपद् बाढी पहिरो लगायतका कारण लामो समय विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएकाले अध्ययनरत विद्यार्थीको शैक्षिक गतिविधिमा क्षती पुगेको भन्दै नगरपालिकाले उपचारात्मक कक्षा सुरु गरेको नगर शिक्षा शाखा प्रमुख माधव पोखरेलले सिभिलखबरलाई बताए ।
पहिलो चरणमा ३ महिनाका लागि यो कक्षा सुरु गरिएको उनको भनाई छ । पालुङटार नगर क्षेत्रमा रहेका कक्षा १ देखि १२ सम्मका १४ र १ देखि ८ कक्षासम्ममात्र रहेका ४ गरी १८ विद्यालयमा यो कार्यक्रम चलाइएको छ ।
जसमा पढाईमा कमजोर रहेका विद्यार्थीको पहिचान गरी एउटा बिषयमा ३६ घण्टाका दरले सोही विद्यालयमै अतिरिक्त समयमा उनलाई पढाउने गरी नगरपालिकाले नयाँ कार्यक्रमको थालनी गरेको हो ।
शिक्षा शाखा प्रमुख पोखरेलका अनुसार तत्कालका लागि ६ कक्षादेखि ८ कक्षासम्म उपचारात्मक कक्षा चलाइने र आवस्यकता परे माथिल्लो कक्षामा समेत कक्षा सञ्चालनका लागि सम्बन्धित विद्यालयलाई स्वतन्त्रता दिइएको छ ।
‘अघिल्लो शैक्षिक सत्रको ५ र ८ को नगरस्तरीय परिक्षामा विद्यार्थीको नतिजा कमजोर आयो’ शिक्षा प्रमुख पोखरेलले सिभिलखबरसंग भने ‘हामीले शिक्षा, अभिभावक लगायत सबैसंग छलफल चलायौ, समिक्षा गर्यौ, कमजोर भएको कारण कोभिडका बेला पढ्न नपाएकाले हो भन्ने निष्कर्ष निक्लेपछि यस्तो कक्षा सुरु गरेका हौं ।’
उपचारात्मक कक्षामा अग्रेंजी, विज्ञान र गणित बिषयलाई केन्द्रित गरि पढाई भएको छ । जसमा कोर्स अघि बढाउने भन्दापनि विद्यार्थीको कमिकमजोरीलाई सुधार्ने गरी कार्यक्रम डिजाइन गरिएको पोखरेल बताउछन् ।
तत्कालका लागि ३ बिषयमध्ये दुई बिषयमा गरी ३६/३६ घण्टाका दरले ७२ घण्टाको कक्षा सञ्चालन हुने बताइएको छ । बैसाख दोस्रो सातादेखि सञ्चालन भएको यो कक्षा ३ महिनासम्म चल्ने बताइएको छ ।
कक्षा बिहान विद्यालय समय सुरुहुनुअघि र बेलुका विद्यालय समयसकिएपछि विद्यालयमै सञ्चालन भइरहेको बताइएको छ । यो कक्षाले आगामी परिक्षामा विद्यार्थीहरुको नतिजामा सुधार आउने नगरपालिकाको विश्वास छ ।
‘हामीले कक्षा सञ्चालनअघि विद्यार्थीको प्रि टेष्ट लिएका थिायौ र कक्षा सकिएपछिपनि फेरी टेष्ट लिन्छौ’ शिक्षा शाखा प्रमुख पोखरेल भन्छन् ‘पक्कैपनि नतिजा र उनिहरुको क्षमतामा सुधारसंगै विकास हुन्छ भन्नेमा हामी ढुक्क छौ ।’
विद्यालयलाई उपचारात्मक कक्षा पढाएबापत नगरपालिकाले अतिरिक्त पारिश्रमिकको समेत ब्यवस्था गरिदिएको छ । जसमा एक शिक्षकले प्रतिकक्षा तीन सय ५० का दरले पारिश्रमिक पाउने उनले बताए ।
हाल नगरक्षेत्रका १८ वटा सामुदायिक विद्यालयमा गरी करिब ४ हजारभन्दा बढी विद्यार्थीहरुले यो कक्षा लिइरहेको नगरपालिकाले जनाएको छ ।
पहिलो चरणको कक्षाको प्रभावकारिता, सिकाई, प्रयोग लगायत विद्यार्थीहरुको अपेक्षालाई हेरेर दोस्रो चरणको कार्यक्रम समेत अघि बढाउने योजना रहेको शिक्षा शाखा प्रमुख पोखरेलले बताए ।