आर्थिक विधेयक, २०८० मार्फत सकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूबाट वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत प्राप्त व्यक्तिले असुल्ने रकमबाट १ प्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्कसमेत लिने जनाएको छ ।
आर्थिक विधेयक, २०८० को अनुसूची २३ को १ मा वैदेशिक रोजगार सेवा शुल्क सम्बन्धी व्यवस्था गर्दै सरकारले भनेको छ, ‘प्रचलित संघीय कानुन बमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतप्राप्त व्यक्तिले वैदेशिक रोजगारमा जाने व्यक्तिबाट असुल गरेको रकमबाट एक प्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्क दाखिल गर्नुपर्नेछ’ भनी उल्लेख गरेको छ ।
तर, यस्तो रकम वैदेशिक रोजगारमा जाने व्यक्तिको हितमै खर्च गरिने समेत विधेयकमा उल्लेख छ ।
यसअघि श्रम स्वीकृति शुल्क लाग्ने गरे पनि अतिरिक्त वैदेशिक रोजगार सेवा शुल्कका नाममा यस्तो शुल्कको व्यवस्था गरिएको थिएन ।