काठमाण्डाै । देशभर गर्मी बढेसगै तराइका जिल्लाहरूमा तातो हावा चल्न थालेको छ । अहिले तराईका जिल्लामा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म मापन गरिएको छ ।
यस्तो समयमा तातो हावा तथा घामको असरले मूर्छा पर्ने वा बेहोस हुने हुन्छ । यसलाई लू लाग्नु भनिन्छ । लू लागे शरीरमा तापक्रमको सन्तुलन बिग्रन्छ ।
यसले सामान्यतया बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी असर पुर्याउने हुन्छ । लगातार शरीरबाट पसिना आउँछ र शरीरमा पानी र नूनको कमी गराउँछ यसले मानिसमा पोटासियम र सोडियमको कमी भई शरीर कमजोर बनाइदिन्छ । लु लागेमा बिरामीको शरीरको तापक्रम बढ्ने र अचेत समेत हुने सम्भावना हुन्छ ।
गर्मीयाममा लू लागेको पत्ता लगाउन कठिन छैन यस्ता व्यक्ति एकदम हड्बडाउने, अचानक लड्ने, शरीर तातो हुने, टाउको दुख्ने, ओठ, आँखा तथा मुख सुख्खा हुने हुन्छ ।
यसका साथै चिडचिडापन र थकान महसुस हुनु, मुटुको धड्कन बढ्नु, पसिना आउन बन्द हुनु, टाउको एवं पेट दुख्नु, लामो समयसम्म पिसाब नहुनु, उल्टी हुनु वा पखाला लाग्ने लगायतका लक्षणहरू देखिन्छन् ।
लू लागेको थाहा पाउनासाथ तत्काल अस्पताल लैजानुपर्छ । अस्पताल पुर्याउन सकिएन भने पनि प्राथमिक उपचार गर्नुपर्छ । लु लागेको व्यक्तिलाई तत्काल चिसो तथा सित्तल ठाउँमा राख्नुपर्छ ।
लू लागेको बेलामा रक्तसञ्चार पर्याप्त भएको हुदैन जसको कारण मस्तिष्कमा रगत पुग्न नसकेर मानिस बेहोश हुन्छन् । यस्तो बेलामा बिरामीको खुट्टा थोरै माथि र टाउकोको भागलाई केही तल पार्नुपर्छ । जसले मस्तिष्कसम्म रगत पुर्याउन मद्दत गर्छ ।
बिरामीको होस भएको अवस्थामा झोलिलो कुरा खान दिनु पर्दछ । बिरामीको शरीर चिसो कपडाले पुछ्ने गर्नुपर्छ । फलफुलको रस लगायत बिरामीलाई तरल पदार्थ पिउन दिनुपर्छ ।
लू बाट बच्न पर्याप्त पानी तथा झोलिलो कुरा खानुपर्छ, चिल्लो, पिरो तथा मदिरा जन्य पदार्थ सेवन गर्नु हुदैन । दिउसोको घाममा भरसक ननिस्कने, निस्कनै परे छाता ओढेर निस्कनु उपयुक्त हुन्छ । अत्यावश्यक कामहरु साझ बिहान गर्नु उपयुक्त हुन्छ ।