काठमाडौ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिकलाई ठग्ने जो कोहीलाई अब कारबाहीको दायरामा ल्याउन अभियान थाल्ने उद्घोष गरेका छन् ।
मन्त्रालयले गरेका गतिविधी तथा आगामी कार्ययोजनाका बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्री भण्डारीले श्रमिकले सरकार छ भन्ने अनुभुती हुने गरी काम गर्न मन्त्रालय अघि बढेको बताए ।
‘वैदेशिक रोजगारीमा जाँदा अनेक बाहानामा ठगी नरोकिनु हाम्रो देशका लागि विडम्बना हो’ श्रम मन्त्री भण्डारीले भने ‘डाटा हेर्ने हो भनेपनि २० हजारभन्दा बढी ठगीकै उजुरी रोजगार विभागमा दर्ता भएका छन्, अब त्यस्ता ठगलाई हामी छोड्दैनौ, श्रमिकलाई सरकार छ भन्ने प्रत्याभुत दिलाउन कारबाहीको अभियान चलाउँछौ ।’
श्रमिकका समस्या सुन्न आफु मन्त्री नबनेको बताउदै उनले अब नतिजा दिने गरी अघि बढ्न आफु मातहतका कर्मचारीलाई निर्देशन समेत दिए । विदेश जाने श्रमिकलाई बलीको बोका बनाइने गरेको भन्दै उनले सजग रहन समेत आग्रह गरे ।
श्रमिक समेत सूचनाको पुहँचमा पुग्न जरुरी रहेको उनको जिकिर छ । श्रम बजारमा नेपाली श्रमिकको सहज पुहँच पुग्ने गरी मन्त्रालयले प्रकृया अघि बढाएको समेत उनले जानकारी गराए ।
‘अब श्रमिकलाई माछा दिने होइन, माछा मार्न बल्छी दिने हो, माछा मार्ने सिप सिकाउने हो, पकाएर खान सिकाउने हो’ मन्त्री भण्डारीले भने ‘काम र सीप सिकेपछि कहाँ काम गर्ने उहाँहरुको च्वाइसको कुरा ।’
विदेशमा कागजात नमिलेर अलपत्र रहेका नेपालीहरुलाई कागजात मिलाएर स्वदेश फिर्ता गर्न मन्त्रालयले प्रकृया अघि बढाएको समेत उनले बताए ।
कमाउन गएका श्रमिकहरु विदेशमा अलपत्र बन्नु ब्यवहारिक नदेखिएको भन्दै उनले उद्धारको अभियान चलाउने समेत प्रतिवद्धता जनाए ।
त्यस्तै संस्थागत रुपमा जादा सेवा शुल्क १० हजार मात्र लिन पाइने ब्यवस्था भएपनि यो नियम ब्यवहारिक नदेखिएकाले अन्य मुलुकको कानून र प्रयोग अध्ययन गरेर संशोधनको पक्षमा मन्त्रालय रहेको उनको भनाई छ ।
स्थानीय तहलाई बलियो बनाएर रोजगार सेवा केन्द्रबाट सबैखालका समस्या समाधान गर्न खोजिएको उनले बताए । सेवा शुल्कको विषयमा समस्या रहेको भन्दै यसको समाधान गर्नुपर्नेमा उनले जोड दिए।