मोहसिन अलि मियाँ
गोरखा । केहिदिन यता मात्रै भारतबाट गण्डकी प्रदेशमा १ हजार ६ सय जना भित्रिएका छन् ।
गण्डकी प्रदेशका बिभिन्न जिल्लामा घर भई रोजगारीको सिलसिलामा भारत पुगेका उनिहरु लकडाउनबिच सिमावर्ती क्षेत्रमा आइपुगेका थिए ।
सिमावर्ती क्षेत्रका बिभिन्न क्वारेन्टिनमा रहेका १ हजार ६ सय बढीलाई आ–आफ्नो पालिका र स्थानीय प्रशासनको सहयोगमा उद्धार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
हाल सबैलाई सम्बन्धित स्थानीय पालिकाले क्वारेन्टिनमा राखेर कोरोना परिक्षणको प्रकृया अघि बढाएको छ ।
गोरखामा आए ५८ जना
त्यस्तै भारतबाट गोरखा घर भएकाहरु ५८ जना जिल्ला भित्रिएका छन् । गत बैशाख २५ गतेदेखि जेठ १३ गतेसम्म ५८ जना आएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
जसमध्ये ४१ जना आइसकेका छन भने १७ जना आउने क्रममा रहेको कार्यालयका प्रशासकिय अधिकृत हर्क बहादुर रोकाले जानकारी दिए । उनिहरु मंगलबार बेलुकासम्म जिल्ला भित्रिने बताइएको छ ।
बिभिन्न समयमा जिल्ला आइसकेका ४१ जनालाई भने हाल क्वारेन्टिनमा राखिएको छ ।