गोरखा । सुन्तलाको पकेट क्षेत्र मानिने शहीद लखन गाउँपालिका–२ मनकामनाको ढाँडवारीमा सुन्तलाको प्रतिमा निर्माण गरिएको छ । ६ लाख रुपैयाँको लागतमा गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाइले प्रतिमा निर्माण गरेको हो ।
सुन्तला खेती प्रवर्द्धनसँगै सो क्षेत्रको व्यवसाय उत्थान गर्ने मुख्य उद्देश्य रहेको इकाइ अध्यक्ष हरि श्रेष्ठले बताए ।
ढाँडबारीस्थित बसपार्कको बीच भागमा प्रतिमा निर्माण गरिएको छ । प्रतिमा निर्माण भएसँगै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्ने स्थानीयले अपेक्षा गरेका छन् ।
प्रतिमाको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ र शहीद लखन थापा गाउँपालिका–२ का अध्यक्ष सकुन थापा मगरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
यस क्षेत्रका बासिन्दाको जीविकोपार्जनको मुख्य आधार सुन्तलाखेती हो । ढाँडबारीबाट मात्रै बार्षिक एक करोड रुपैयाँको सुन्तला बिक्री हुने गरेको छ ।