काठमाडौं । नेपाल सरकारको ऋण गत वर्ष उठाएको राजस्वभन्दा दाेब्बर भएको छ । गत वर्ष १० खर्ब ६७ अर्ब राजस्व उठाएको सरकारले चालू आर्थिक वर्षको वैशाखसम्ममा २१ खर्ब ५४ अर्ब १२ करोड ऋण पु-याइसकेको छ ।
कुल सार्वजनिक ऋणलाई कुल जनसंख्यासँग तुलना गर्ने हो भने एक नेपाली जनताबराबर ७४ हजार रुपैयाँ कर्जा देखिएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्म (२०७९ असार मसान्तसम्म) नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख थियो । चालु आर्थिक वर्षको १० महिनामा सार्वजनिक ऋणको आकार १ खर्ब ४० अर्ब ८२ करोड ७५ लाख थपिएर साढे २१ खर्ब रुपैयाँ नाघेको छ ।
चालु आर्थिक वर्षको १० महिनामा आन्तरिक र बाह्य गरी २ खर्ब ३० अर्ब २४ करोड ६७ लाख ऋण उठाएको सरकारले यो अवधिमा १ खर्ब ४३ अर्ब ४२ करोड २ लाख रुपैयाँ साँवा ब्याजबापत तिरेको छ । आन्तरिक ऋणको साँवा ब्याज तिर्न १ खर्ब १० अर्ब ४२ करोड ५८ लाख र बाह्य ऋणको साँवा ब्याज तिर्न ३२ अर्ब ९९ करोड ६२ लाख खर्च भएको छ ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले १ खर्ब ५९ अर्ब ५० करोड आन्तरिक ऋण र ७० अर्ब ७४ करोड बाह्य ऋण लिएको छ ।
हालसम्ममा ७ खर्ब ७१ अर्ब मात्र राजस्व उठाउन सरकारले असार मसान्तसम्ममा १० खर्ब पनि मुस्किलले उठाउन सक्ने अवस्था छैन । यो हिसाबले नेपाल सरकारको राजस्व आयबाट मात्र सार्वजनिक ऋण तिर्ने हो भने दुई वर्ष लाग्ने देखिएको छ ।