काठमाडौँ । यो बर्ष हज यात्रामा जाने नेपालीहरुको उडान तालिका सार्वजनिक भएको छ । नेपाल हज समितिको सचिवालयले आज सोमबार एक सूचना प्रकाशित गर्दै नेपाली हज यात्रीको उडान तालिका सार्वजनिक गरेको हो ।
जसअनुसार जेठ १८ गतेदेखि जेठकै २४ गतेसम्ममा गरी ६ उडान मार्फत नेपाली हज यात्रीहरुलाई साउदीको मक्का पु¥याउने हज समितिको तयारी छ ।
यो बर्ष १ हजार १ सय १९ जना नेपाली हजयात्रामा जादैछन् । जसअनुसार पहिलो उडान जेठ १८ गते हुनेछ । १८ गतेको पहिलो उडानमा कपिलबस्तुका १९१ जना, कैलालीका २, सुर्खेतका १, बर्दियाका ५, दाङका ३, अर्घाखाँचीका ८, नवलपरासी पश्चिमका ९, पाल्पाका १, स्यांजाका ६, कास्कीका ५ जना रहनेछन् ।
त्यस्तै १८ गतेकै पहिलो उडानमा गोरखाका २३, चितवनका २, तनहुँका ३, रुपन्देहीका ३ र नुवाकोटका ४ जना गरी २ सय ६५ जना रहेको हज समितिले जनाएको छ ।
पहिलो उडानमा जाने हजयात्रीलाई जेठ १६ गतेभित्र काठमाडौँको दरबारमार्गस्थित पञ्चकस्मिरी तकिया जामे मस्जिदमा पुगिसक्नुपर्ने हज समितिको सचिवालयले जनाएको छ ।
त्यस्तै जेठ १९ गते बाँकेका १३६ र रुपन्देहीका १०४ जना गरी २४० जनाको उडान हुने तालिकामा उल्लेख छ । उनिहरु १७ गतेसम्म काठमाडौ आइपुग्नुपर्ने हुन्छ ।
त्यस्तै २० गते रौतहटका ९५ र बाराका २७ गरी १ सय २२ जनाको उडान हुनेछ । रौतहट र बाराका हजयात्रीहरु १८ गतेसम्म काठमाडौँ आउनुपर्ने छ ।
यसैगरी २२ गते काठमाडौंका ३४, पर्साका २५, सर्लाहीका ३९ र धनुषाका ३३ गरी १ सय ३२ जनाको उडान हुने सचिवालयले सार्वजनिक गरेको तालिकामा उल्लेख छ । उनिहरु २० गतेसम्म हजसमितिको सम्पर्कमा पुग्नुपर्नेछ ।
त्यस्तै २३ गते झापाका १०, मोरङका २२, सुनसरीका १८४ र सप्तरीका ७२ गरी २ सय ८८ जनाको र २४ गते अन्तिम उडानमा महोत्तरीका ४१, सिराहका २७, सप्तरीका २ र बाँकेका २ गरी ७२ जना हजयात्री साउदी जाने बताइएको छ ।
यो बर्ष सबै उडान तालिका मध्यरातमा राखिएको छ । सचिवालयले हजयात्रीलाई राती ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्न समेत अनुरोध गरेको छ ।
हजयात्रामा जानका लागि यस बर्ष समितिले प्रतिब्यक्ति ४ लाख ६५ हजार रुपैया शुल्क तोकेको थियो ।
त्यस्तै हजयात्रीलाई साउदी पठाउने तयारीमा रहेका हज समितिका अध्यक्ष शम्सेर मियाँ भने अहिले प्रहरी हिरासतमा छन् । उनलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले जेठ ४ गते नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका अध्यक्ष मियाँलाई प्रहरीले सिंहदरबार परिसरबाट पक्राउ गरेको थियो ।
