• शनिबार, साउन ९ २०८३

युरोप पठाउने भन्दै विना अनुमती अन्तर्वार्ता लिने दुई विदेशी नागरिक नियन्त्रणमा


आइतबार, जेष्ठ ७ २०८०
770
Shares

काठमाण्डौ । रोजगारीका लागि पोल्याण्ड लैजानेभन्दै अनुमति बिना युवाहरू जम्मा पारी अन्तर्वार्ता लिइरहेको अवस्थामा दुई विदेशी नागरिकलाई वैदेशिक रोजगार विभागले नियन्त्रणमा लिएको छ ।

पोल्याण्ड र युरोपका अन्य देशमा लैजाने भन्दै गएको शुक्रवार होटल मेरियटमा अनुमति बिनै सयौँको सङ्ख्यामा युवाहरू जम्मा गरेर अन्तर्वार्ता लिएको पाइएपछि पोल्याण्डका नागरिक एलेग फेडोसिक र यूएईका नागरिक रिता फियागोसिकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको विभागले जनाएको छ ।

केही समयदेखि टिकटक अकाउण्टमार्फत यूएईकी नागरिकले रिताले आफू पोल्याण्ड रिक्रुटमेन्ट कम्पनीको प्रतिनिधि रहेको र वेयरहाउस तथा फ्याक्ट्रीको काममा एक हजार जना नेपाली नागरिक लैजाने भन्दै प्रचार गरेकी थिइन ।

पछिल्लो समय टिकटक, फेसबुक तथा भाइवरमार्फत नेपाली नागरिकलाई विदेशका विभिन्न देशमा आकर्षक तलब सुविधा देखाइ प्रलोभनमा पार्ने र पैसा उठाई अलपत्र पर्ने क्रम बढ्दै गएको छ ।

सामाजिक सञ्जालको पछि नलाग्न र विभागबाट श्रमिक पठाउन अनुमति लिएका संस्थाबाट मात्र वैदेशिक रोजगारीमा जान पनि विभागले अनुरोध गरेको छ ।

विभागबाट अनुमति नै नलिई विभिन्न महँगा होटल तथा पार्टी प्यालेसमा वैदेशिक रोजगारीको अन्तर्वार्ता लिने र नेपालीहरूसँग रकम असुल्ने क्रम बढेको भन्दै विभागले होटल तथा पार्टी प्यालेसहरूलाई समेत सचेत गराएको छ ।

यदि कोही कसैले वैदेशिक रोजगारी सम्बन्धी अन्तर्वार्ताका लागि बुक गरेमा विभागबाट त्यस कामका लागि अनुमति लिए नलिएको बुझेर मात्र ठाउँ उपलब्ध गराउन सबै होटल तथा पार्टी प्यालेसहरूलाई विभागले अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार