• आइतबार, साउन १० २०८३

गोरखा नगरपालिका र जिल्ला अस्पतालवीच सम्झाैता, नगरवासीकाे उपचारमा छुटै छुट !


शुक्रबार, जेष्ठ ५ २०८०
1.5K
Shares

सुदिप श्रेष्ठ

गोरखा । गोरखा नगरपालिका र गोरखा अस्पताल बीच आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

नगरबासीहरुलाई निःशुल्क आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न उदेश्यले बिहीबार अस्पताल र गोरखा नगरपालिका बीच दुईपक्षीय सम्झौता भएको हो ।

नगरपालिकाले जारी गरेको आधारभुत स्वास्थ्य सेवा सञ्चालन कार्यविधि अनुसार नगर प्रमुख कृष्णबहादुर राना र अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

गोरखा नगरपालिका बाहेकका सबै स्थानीय तहमा पालिका स्तरीय अस्पताल निर्माणको चरणमा छन् । तर सदरमुकामको गोरखा नगरपालिकाले गोरखा अस्पताललाई पालिका स्तरीय अस्पतालको रुपमा प्रयोग गरि नगरबासी सर्वसुलभ सेवा प्रदान गर्न लागेको नगरप्रमुख रानाले बताए ।

‘अरु ठाउँमा पालिका स्तरीय अस्पताल छ । तर गोरखा नगरपालिकामा छैन, सोही अनुरुप नगरबासीलाई सेवा प्रदान गर्न गोरखा अस्पताल सँग सम्झौता गरेका हौं,’ उनले भने, ‘यहाँबाट ९८ प्रकारका औषधी, १८ प्रकारको प्रयोगशाला र थप १० प्रकारका सेवा उपलब्ध हुने छ । यसको सदुपयोग गर्न म नगरबासीलाई आग्रह गर्दछु ।’

अस्पतालले खोप सेवा, एकीकृत नवजात शिशु तथा बालरोग ब्यवस्थापन, पोषण सेवा, गर्भवती प्रशव तथा सुत्केरी सेवा, परिवार नियोजन सेवा, सरुवा रोग नियन्त्रण कार्यक्रम, नसर्ने रोग तथा शारिरीक बिकलाङ्गता सम्बन्धी सेवा, सामान्य/आकस्मिक अवस्थाको उचारात्मक सेवा प्रवाह, स्वास्थ्य प्रवद्र्धन सेवा, आयुर्वेद तथा अन्यमान्यता प्राप्त वैकल्पिक स्वास्थ्य सेवा प्रदान गर्ने गरी नगरपालिकाले संझौता गरेको हो ।

सम्झौता बमोजिमको सेवा प्रदान गर्न नगरपालिकाले जेठ १० गतेबाट लागु हुने गरी १५ लाखमा संझौता गरेको नगर प्रमुख रानाले बताए ।

गोरखा नगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरुलाई स्वास्थ्य कार्ड प्रदान गर्ने र स्वास्थ्य कार्डको उपलव्ध नहुँदा सम्म व्यक्तिको परिचय खुल्ने सरकारी कागज पत्र नागरिकता/ जन्मदर्ता/मतदाता परिचय पत्र/राष्ट्रिय परिचयपत्र/सवारी चालक अनुमती पत्र/बसाईसराई पत्र वा विवाह दर्ता प्रमाण पत्र) को आधारमा नगरबासीलाई सेवा दिने संझौतामा उल्लेख गरिएको छ ।

नगरबासीलाई अस्पतालमा भर्ना हुँदा, अस्पताल बस्दा, टिकट काट्दा अस्पतालले बेहोर्ने अस्पताल व्यवस्थापन समितीका अध्यक्ष लाल प्रसाद श्रेष्ठले बताए ।

सम्झाैताले नगरवासीकाे स्वास्थ्य सेवा र उपचारलाई थप सहज पहुँचमा पुग्ने विश्वास लिइएकाे उपमेयर मसलीमायाँ थोकर (सपना पुन) ले बताइन् ।

अस्पतालले सेवा प्रवाहको लागि २ जना प्राविधिक व्यवस्था, सेवा सुचारु गर्नको लागि डेक्स्टप कम्प्यूटर १ सेट, फोटो कपि सहितको प्रिन्टर १ थान, कुर्ची २ थान, दराज १ थान, ¥याक १ थान, स्टिकर प्रिन्टर १ सेट र अफिस टेवल, १ थान खरिद गर्नुपर्ने, आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक पर्ने फर्म फर्मेट, स्टेशनरी सोही रकमबाट खरिद गर्नुपर्ने संझौतामा उल्लेख गरिएको छ ।

नेपाल सरकारद्धारा सञ्चालन गरिएका निशूल्क औषधी वितरण सुरक्षीत मातृत्व, आमा सुरक्षा, नव शिशु उपचार÷एकृकित बालरोग व्यवस्थापन, परिवार नियोजन, क्षयरोग, कुष्ठ रोग, एच आई.भी एड्स, औलो तथा कालाजार, हात्तिपाईले जस्ता कार्यक्रमहरु शर्सत अनुदान अनुसार उपलव्ध गराइने गरि संझौता भएको छ ।

उक्त कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख लिला परीयार, गोरखा नगरपालिकाको उपप्रमुख मसलीमायाँ थोकर (सपना पुन), प्रमुख जिल्ला दिनेश सागर भुसाल, गोरखा नगरपालिकाका स्वास्थ्य अधिकृत सुर्य भुसाल, गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल पुन, सबै वडाका वडाध्यक्ष, व्यवस्थापन समितिका पदाधिकारी, विभिन्न सरकारी तथा गैर सरकारी सघं संस्थाका पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

नगरपालिका र गोरखा अस्पताल वीच आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सम्झौता भएपनि नगरबासी र सरोकारवालाहरु पनि खुसी भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार