• शनिबार, साउन ९ २०८३

प्रधानमन्त्री रोजगार कार्यक्रम : ३५ लाखभन्दा धेरै बेरोजगार सूचीकृत, कतिले पाए राेजगारी ?


बिहिबार, जेष्ठ ४ २०८०
1.6K
Shares

काठमाण्डौ । बितेका पाँच वर्षमा ३५ लाख भन्दा धेरै नागरिक बेरोजगारको सूचीमा सूचीकृत भएका छन् ।

सरकारले पाँच वर्षभित्र बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०७५/०७६ देखि कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बितेका चार वर्षमा ३५ लाख ३२ हजार ९९७ जना बेरोजगार व्यक्तिहरू सूचीकृत भएकोमा ५ लाख ८९ हजार ७७९ अर्थात् १६.६९ प्रतिशतले मात्र रोजगारी पाएका हुन् । 

आर्थिक वर्ष २०७५/०७६ मा १७ लाख १ हजार ५५१ जना बेरोजगारको सूचीमा सूचीकृत भएको १ लाख ७५ हजार ९०९ जनाले अर्थात् १०.३४ प्रतिशतले मात्र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी पाएका थिए । 

आर्थिक वर्ष २०७६/०७७ मा तीन लाख ७० हजार ७३४ जना बेरोजगारको सूचीमा सूचीकृत भएको एक लाख ५ हजार ३६५ जनाले, आर्थिक वर्ष २०७७/०७८ मा सात लाख ५२ हजार ४४९ जना बेरोजगारको सूचीमा सूचीकृत भएकोमा २३ .८५ प्रतिशत अर्थात् एक लाख ७९ हजार ४६९ जनाले र आर्थिक वर्ष २०७८/०७९ मा सात लाख आठ हजार २६३ जना बेरोजगारको सूचीमा सूचीकृत भएको १८ .२२ प्रतिशत अर्थात् एक लाख २९ हजार ०३६ जनाले रोजगारी पाएको श्रम मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रमकै लागि सरकारले चालु आर्थिक वर्षमा ७ अर्ब ५ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

१३ देखि ७५ दिने रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारको सूचीमा सूचिकृत बेरोजगारहरूलाई पालिकास्तरमा नै न्यूनतम सय दिनको रोजगारी उपलब्ध गराउने व्यवस्था भए पनि १३ देखि ७५ दिनको मात्र रोजगारी उपलब्ध गराइएको पाइएको छ । 

आर्थिक वर्ष २०७५ /०७६ मा औसत १३ दिनको, आर्थिक वर्ष २०७६/०७७ मा औसत १६ दिनको, आर्थिक वर्ष २०७७/०७८ मा औसत ७६ दिनको र आर्थिक वर्ष २०७८/०७९ मा औसत ७५ दिनको रोजगारी उपलब्ध गराइएको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी पाएकाहरूले दैनिक पारिश्रमिक ५१७ देखि ५७७ रुपैयाँ पाएका छन् । जसअनुसार १३ दिनको औसत रोजगारी पाउँदा एउटा बेरोजगार व्यक्तिले एक महिनामा ६ हजार ७२१ रुपैयाँ, १६ दिनको औसत रोजगारी पाउँदा एक महिनामा औसत आठ हजार २७२ रुपैयाँ, ७६ दिनको औसत रोजगारी पाउनेले एक महिनामा ३९ हजार २९२ रुपैयाँ र आर्थिक वर्ष २०७८/०७९ मा आउँदा न्यूनतम पारिश्रमिक ५१७ बाट बढाएर ५७७ पुर्‍याउँदा ७५ दिनको औसत रोजगारी पाउनेले एक महिनामा ४३ हजार २७५ रुपैयाँ आम्दानी गरेका छन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार