• शनिबार, साउन ९ २०८३

हरेक नागरिकलाई रोजगारीसंग जोड्न गण्डकीले उत्पादनमा अनुदान कार्यक्रम ल्याउने


बुधबार, जेष्ठ ३ २०८०
1K
Shares

गोरखा । हरेक नागरिकलाई रोजगारी र श्रमसंग जोड्न गण्डकी प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउने तयारी गरिरहेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन् । आज बुधबार गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री पाण्डेले नागरिकलाई श्रम र रोजगारीसंग जोड्ने कार्ययोजना बनिरहेको बताएका हुन् ।

‘हामी हरेक नागरिकलाई रोजगारीसंग जोड्न चाहान्छौ’ उनले भने ‘त्यसका लागि उत्पादनमा अनुदान कार्यक्रम लन्च गर्ने कार्ययोजना बनाईहेका छौ ।’

स्वरोजगार बनाउने नाममा उत्पादनअघि नै सरकारी ढुकुटीबाट अनुदान वितरण गर्दा त्यसको प्रभावकारिता कम देखिएको समेत उनको भनाई छ ।

अनुदानका नाममा कार्यकर्ता पोस्ने र भोट बढाउने काम अब सधैका लागि बन्द हुनुपर्ने बताउदै मुख्यमन्त्री पाण्डेले अब उत्पादनपछि मात्रै अनुदानको ब्यवस्था गरिने बताए । आगामी आर्थिक बर्षमा यो कार्यक्रम कार्यान्वयन गराउने गरी हाल योजना निर्माणको चरणमा रहेको समेत उनले जानकारी दिए ।

त्यस्तै उनले घरेलु मदिरालाई ब्राण्डिङ गरी परिमार्जन गर्ने र गुणस्तरिय उत्पादनमा जोड दिदा घरघरमा स्वरोजगारी सृजना हुने तर्क समेत राखे । हाल घरेलु मदिरा प्रतिवन्धित रहेकाले यसलाई संघिय सरकारसंग छलफल गरी ब्राण्डिङ गर्ने तर्फ समेत गण्डकी सरकार लागेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।

‘लोकल रक्सीलाई रिफाइन गरेर ब्राण्डिङ गर्न सकियो भने गाउँघरमा सानातिना उद्योग पनि सञ्चालन हुन्छ, स्वरोजगार सिर्जना हुन्छ र आर्थिक स्थितिमा सुधार पनि गर्न सकिन्छ’, उनले भने ।

त्यस्तै उनले गाजा औषधि हो वा लागू औषध हो भन्ने विषयमा बहस हुनुपर्ने बताएका छन् ।

‘गाँजा लागू औषध हो कि औषधि हो यस बारेमा बहस हुनुपर्छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘यदि यो औषधि पनि हो भने नियमनकारी निकायहरु निर्माण गरेर यसलाई औषधिको रुपमा प्रयोग किन नगर्ने भन्ने हो ।’

काठमाडौंमा पनि यसबारे बहस भइरहेको भन्दै उनले यो बहसलाई बृहत बनाउनुपर्ने धारणा राखे । गाँजालाई औषधीका रुपमा प्रयोग गर्न सके धेरै नागरिक यसको ब्यवसायीक खेती तर्फ उन्मुख हुने र स्वदेशमै रोजगारीको सृजना हुने समेत उनको तर्क छ ।

पत्रकार सम्मेलनका क्रममा उनले स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले हरेक नागरिकले राहत महसुस गर्ने गरी योजना बनिरहेको जानकारी समेत दिए । सिमित स्रोत साधनका बाबजुद स्वास्थ्य शिक्षा लगायत आधारभुत आवस्यकतालाई ब्यवस्थित बनाउन प्रदेश सरकार लागिरहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार