गोरखा । भिमसेनथापा गाउँपालिकाले सार्वजनिक पदधारण गरेका अभिभावकले बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ ।
विहिवार भएको गाउँ कार्यपालिकाको निर्णयानुसार पालिकाकाभित्र पालिकाकाभित्र सार्वजनिक पदधारण गरेकाहरूले आफ्ना बालबालिकालाई यहि शैक्षिक सत्रमा सामुदायिक विद्यालयमा भर्ना गर्न सूचना निकालेको छ ।
गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सहयोग पुर्याउने उद्धेश्यले सार्वजनिक पद धारण गरेका सबैले सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने पालिका अध्यक्ष लोक प्रसाद बञ्जराले जानकारी दिए।
पालिकाले सार्बजनिक पद धारण गरेका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक अभिभावक संघका पदाधिकारीहरुका आफ्ना बालबालिकाहरुलाई अनिवार्य सामुदायिक बिद्यालयमा भर्ना गराउनुपर्ने निर्णय गरिएकोे बञ्जराले बताए ।
जनप्रतिनिधि र कर्मचारीले अनिवार्य रुपमा आफ्ना बाबुनानीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराई गाउँपालिकाको शिक्षालाई बालमैत्री, गुणस्तरिय, प्रतिस्पर्धी एवं नतिजामुलक बनाउन सहयोग गरिदिन गाँउपालिले अनुरोध गरेको छ ।
गाउँपालिकाले आईतवार सूचना जारी गर्दै सार्वजनिक पदधारण गरेका सबैका बालबालिका सामुदायिक विद्यालय भर्ना गराउने निर्णय भएकाले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराई सोको जानकारी शिक्षा शाखामा उपलब्ध गराउन सूचनामा भनिएको छ ।