काठमाडौँ । ब्यक्तिले गरेकाे भ्रष्ट्राचारकाे बोझ पार्टीले बोक्न नहुने नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पूर्वगृहमन्त्री बालकृष्ण खाँड समेत पक्राउ परेपछि सामाजिक सञ्जाल मार्फत उनले भ्रष्ट्राचारलाई पार्टीले प्रश्रय दिन नहुने तर्क राखेका हुन् ।
साे प्रकरणमा पक्राउ पुर्जी जारी भएका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई सांसद पदबाट निलम्बन गरिनुपर्ने समेत शिवाकोटीकाे माग छ ।
फरार अभियुक्त संघीय संसद भइरहनु लज्जाको विषय भएको भन्दै तत्काल निलम्बन गर्न माग गरेका हुन् । रायमाझीलाई नेकपा एमालेले आजै सचिव पदबाट मुद्दाको अन्तिम किनारा नलागेसम्म निलम्बन गरेको छ । पार्टीले निलम्बन गर्दा पनि फरार अभियुक्त सांसद रहिरहन नहुने नेता शिवाकोटीको भनाई छ ।
उनले भनेका छन्, ‘टोपबहादुर रायमाझीको पक्षपोषण गर्दै आएको एमाले नेतृत्वले जनदबाबपछि ढिला गरेरै भए पनि पार्टीको पदबाट निलम्बित गर्यो, फरार अभियुक्त पार्टीको पदबाट निलम्बित हुने तर सांसद भने भइरहनु लज्जा हो, तत्काल संसदले रायमाझीलाई सांसद पदबाट निलम्बन गरोस्।’
यस्तै उनले नक्कली शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेका नेपाली काँग्रेसका नेता बालकृष्ण खाणलाई समेत पार्टीबाट निलम्बन गरिनुपर्ने माग गरेका छन् । साथै उनले भ्रष्टाचारको बोझ पार्टीले बोक्न नहुने बताएका छन् ।
उनले भनेका छन्, ‘पक्राउ परेका बालकृष्ण खाँणलाई पनि पार्टीले तत्काल निलम्बन गरोस्, भ्रष्टाचारको बोझ पार्टीले बोक्न हुन्न र सकिँन्न। भ्रष्टाचारमा नेता, नाता, प्रभाव र दबाबको प्रतिकार गरौं ।’
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गठी प्रकरणमा मुछिएपछि तत्कालीन गृहसचिवसमेत रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पनि अनुसन्धानका लागि प्रहरीको थुनामा रहेका छन् । यस्तै काठमाडौँ जिल्ला अदालतले नेकपा एमालेका निलम्बित सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । यद्दपि उनी एकसातादेखि फरार रहेका छन् ।
यस्तै प्रहरीले अहिलेसम्म पूर्वगृहमन्त्री खाँडसहित १२ जनालाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
यसै प्रकरणमा जाेडिएकाे भन्दै मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो।
त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ ।
उक्त घटनामा आरोपित एमालेका सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ ।
उक्त घटनामा हालसम्म एक सय ६ जनाले २० जाहेरी दिएका छन् ।