काठमाडौँ । स्वतन्त्र सांसद डा अमरेश कुमार सिंहले सर्वदलीय भ्रष्टाचारको गाँठो फुकाउन नेपाली जनताको ध्यानाकर्षणका लागि आफूले संसद् बैठकमा कपडा खोलेको बताएका छन् ।
दिन प्रतिदिन नेपाली जनता गरिब हुने, विचौलिया हावी हुने र २०६३ पछि कुनै पनि नेतालाई किन कारबाही नहुने ? त्यसको कारण यही सर्वदलीय भ्रष्टाचारको कारण रहेको उनको भनाइ थियो ।
संसद्मा बैठकपछि सिंहले संसद् परिसरमा रहेका पत्रकारहरुसँग कुराकानी प्रतिक्रिया व्यक्त गर्दै भने, ‘मैले भ्रष्टाचारको बारेमा बोल्न दिनोस् भनेर सभामुखलाई भनेको थिएँ, धेरै समय मागेको पनि थिइनँ, मैले समय पाइनँ भने विरोधको अन्तिम तहसम्म जानेछु भनेर भनेकै थिए ।’
‘सभामुखले भ्रष्टाचारका विषयमा बोल्न नदिने हो भने मैले सदनमा आफ्नो कपडा खोल्छु् भनेको थिएँ,’ सिंहले भने, ‘मेरो लागि यो सदन निर्वस्त्र हुन्छ जनताको लागि निर्वस्त्र हुन्छ । नेपाली जनता भ्रष्टाचारीका कारणले विचौलियाका कारणले दिनका दिन नग्न भइरहेका छन् ।’
बजेट बिचौलियाले बनाउने, अर्थमन्त्रीले संसद्मा पढ्ने, सांसदले हात उठाइदिने बजेटको संसद्मा बोलेर एक शब्द हेरफेर नहुने गरेको उनको भनाइ थियो ।
‘म नयाँ सांसद होइन, म चौथोपटक सांसद भएको हो । म कुनै आवेशमा आएर लुगा फुकालेको होइन,’ उनले भने, ‘एउटा पढेलेखेको सांसदको कुरा नसुन्ने, झोलेहरुले माइन्ड सेट (विचार) बनाउने ?’