काठमाडौं । साँसद असिम शाहले भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई कटाक्ष गर्दै छानबिनमा खुट्टा नकमाउन आग्रह गरेका छन् ।
सोमबार संसद बैठकमा शाहले भ्रष्ट्राचार प्रकरणमा थालिएको छानविनको सुरुवाती चरण हेर्न प्रतिक्षा गर्न लायक रहेको भन्दै यसलाई निश्कर्षमा पु¥याउनु पर्ने बताएका हुन् ।
‘अहिले प्रधानमन्त्रीज्यूले रिलिज गर्नुभएको भुटानी शरणार्थी प्रकरणको ट्रेलर सडकदेखि सदनसम्म ब्लकबस्टर भएको छ । अक्सर नेपाली फिल्महरुमा ट्रेलर गजब तर फिल्म झूर हुने भन्ने आरोपलाई गलत पुष्टि गर्ने सुवर्ण अवसर प्रधानमन्त्रीलाई छ,’ उनले भनेका छन् ।
पेशाले फिल्म निर्देशक र निर्माता समेत रहेका उनले संसदमा पहिलोपटक बोल्दा पनि फिल्मकै सन्दर्भअनुसार बोलेका थिए ।
साँसद शाहले संसदमा बोलेको पूर्ण पाठ यस्तो छ
सम्मानीय सभामुख महोदय,
सदनमा मैले पहिलो मन्तव्य राजनीति र चलचित्र, यसका नायक र खलनायकको विषय उठाएको थिएँ । अहिले प्रधानमन्त्रीज्यूले रिलिज गर्नुभएको भुटानी शरणार्थीको ट्रेलर सडकदेखि सदनसम्म ब्लकबस्टर भएको छ । अक्सर नेपाली फिल्महरुमा ट्रेलर गजब तर फिल्म झूर हुने भन्ने आरोपलाई गलत पुष्टि गर्ने सुवर्ण अवसर प्रधानमन्त्रीलाई छ ।
यस्तै सन्दर्भमा ब्लकबस्टर फिल्म निर्माण र निर्देशन गर्ने अनुभव भएको फिल्मकर्मी भएको नाताले सरकारलाई केही सुझाव दिन चाहन्छु, दर्शकको लागि चलचित्र बनाउँदैछौं भने दर्शकले बुझ्ने गरेर चलचित्र बन्नुपर्छ । जनताको लागि प्रदर्शनमा ल्याउन लागिएको यो भुटानी शरणार्थीको फिल्म जनताले बुझ्ने गरेर पारदर्शी ढंगले अनुसन्धान हुनुपर्छ, खुट्टा नकमाइयोस् । चलचित्रमा लगानीकर्ताको प्रलोभनमा परी उसको अनुकूल कथामा परिवर्तन गरियो भने चलचित्र डुब्छ । त्यसैगरी यहाँ पनि सरकार कुनै पनि लगानीकर्ताको प्रलोभनमा नपरोस् ।
शंकास्पद नेतृत्व, विचौलिया, कर्मचारी जो कसैको भूमिकामा पनि स्पष्ट छानबिन गरियोस् । दायाँबायाँ नहोस् । कलाकार राख्दा फिल्म डुब्छ, त्यसैगरी यो फिल्ममा पनि आफ्ना निकट भनेर निकटस्थलाई बचाउन खोज्दा देश डुब्छ, ख्याल राखियोस् ।