काठमाडाैँ । कमिसनका लागि अस्पतालहरुमा अनावश्यक उपकरण किन्ने र प्रयाेग नै नगरी थन्क्याउने प्रवृति बढेकाे भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहन बहादुर बस्नेतले यस्ता गलत प्रवृत्ती राेक्नु निर्देशन दिएका छन् । आईतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मातहतका ५ वटै महासाखाका कर्मचारीलाई निर्देशन दिदै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा कसैले खेलवाड गर्न नपाउने बताएका हुन् ।
स्वास्थ्य अति संवेदनशिल क्षेत्र रहेकाले सबैलाई गम्भिर बन्न उनले आग्रह समेत गरे । ३ करोड जनताको जिउ ज्यानलाई ध्यानमा राखेर काम गर्न मातहतका निकायलाई उनकाे निर्देशन छ । स्वास्थ्य मन्त्रालयको काम संवेदनशील भएकाले जनताको जिउ ज्यानलाई ध्यानमा राखेर नीति योजना बनाउन पर्नेमा जोड दिए ।
स्वास्थ्य मन्त्रालय अहिले आगामी बर्षको बजेटमा जुटेकोले विपन्न जनताले स्वास्थ्य सेवा पाउने ग्यारंटी गर्ने किसिमले बजेटको विनियोजन गर्न मन्त्री बस्नेतले कर्मचारीहरुलाई निर्देशन दिए । कर्मचारीले सफलताका साथ जिम्मेवारी बहन गरे मात्र जनताले सहज उपचार सेवा पाउने र त्यसकै आधारमा मन्त्री पनि सफल हूने बस्नेतले बताए ।

मन्त्रालयका समस्या समाधानकालागि आफूले कर्मचारीहरुलाई आवश्यक पर्ने समय दिन तयार रहेको बताउदै मन्त्री बस्नेतले मन्त्रालयको कामकाजमा ढिलाई नहोस भन्नका लागि आफूले आगन्तुकसँग भेटघाटको समय हरेक दिन साँझ ४ बजेपछि मात्र राख्न लागेको जानकारी दिए ।
उनले भने, ‘अन्य भेटघाटले काममा बाधा नपरोस भन्ने हेतुले मैले आगन्तक भेटने समय साँझ ४ बजे पछि राख्दैछु ।’
सूर्तिजन्य पदार्थमा दरको दायरा बढाएर भए पनि बिपन्न जनतालाई स्वास्थ्य उपचार दिनू पर्नेमा उनले जोड दिए । ‘सूर्तिजन्य पदार्थमा कर बढाऔ र त्यसबाट संकलन भएको रकम वीर अस्पताल लगायतका विपन्नको उपचार हुने अस्पताललाई अनूदान दिऔ ।’ मन्त्री बस्नेतले भने ‘सूर्तिजन्य पदार्थको करबाट उठने रकम क्यान्सर लगायतका रोगमा मात्र खर्च गर्ने व्यवस्थालाई परिवर्तन गर्न आवश्यक भए प्रधानमन्त्रीसँग सल्लाह गरेर नियम परिवर्तन गराउँछु ।’
मन्त्री बस्नेतले मन्त्रालयमा गर्न सकिने सुधारका कामका लागि आफूलाई लागेका सल्लाह लिखित रुपमा दिन आग्रह गरेका छन । आउदो आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयको बजेट करिव ४० प्रतिसतले कटौती हुन लागेको बताउदै बस्नेतले बजेट बढाउनका लागि आफूले नेतृत्व गर्ने र सबै कर्मचारीले त्यसमा साथ दिनुपर्नेमा जोड दिए ।