गोरखा । गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरका स्वकीय सचिव अनिष अर्याल(ज्याक)ले नगरपालिकाकाे कार्यालयभित्र र बाहिर पनि गुण्डागर्दी गरेको भन्दै बहुसंख्यक कार्यपालिका सदस्यले आपत्ती जनाएका छन् ।
मेयर रानाका स्वकिय सचिव अर्यालले पालिकाका कर्मचारीमाथी गुण्डागर्दी शैलीमा ब्यवहार देखाउदै कार्यसम्पादनमा बाधा पुर्याउन थालेकाे भन्दै उपमेयर मसलीमाया थाेकर (सपना पुन) सहित नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीले बिराेध जनाएका हुन् ।
उपमेयर पुनकाे नेतृत्वमा कार्यपालिका सदस्यहरुले शुक्रबार पत्रकार सम्मेलन गरी मेयर रानाले स्वकीय सचिव ज्याक अर्याललाई नगरपालिका कार्यालयभित्र गुण्डागर्दी गर्न छाडा छाडेको आरोप लगाए ।
‘मेयर जस्ता मर्यादित व्यक्तिको स्वकीय सचिवले नगरपालिकाको सरकारी नंबर प्लेटको मोटरसाइकल चढेर गएर द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीलाई कुटपिट ग¥यो । क्याम्पसको अफिस तोडफोड ग¥यो । पार्टीको संरक्षणले कसैले कारबाही गर्न सकेन । मेयरसावले करेक्शन गराउनु होला भन्ने सोच्यौँ, गराउनु भएन’, उपमेयर सपना पुनले पत्रकार सम्मेलनमा भनिन्, ‘फेरि गत वैशाख ११ गते शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख चन्द्रबहादुर खड्काको कार्यकक्षमा प्रवेश गरी शिक्षक छनौट समितिको फाइल च्यात्न खोजे । अपशव्द बोल्दै दुव्र्यवहार गरे । चन्द्र सर र भरतकाजी अर्याल सरले समातेर बाहिर निकाल्नु भयो । त्यो भन्दाअघि पनि यस्ता घटना बारम्बार हुने गरेको छ । आवश्यकता अनुसार सार्वजनिक गर्दै जानेछौँ ।’
घटनाको बारेमा मेयर रानालाई जानकारी गराई उनलाई निश्काशन गर्न अनुरोध गर्दा मेयरले वेवास्ता गरेको उनले गुनासो गरिन् ।
‘बारम्बार गुण्डागर्दी गर्ने पिएलाई निश्कासन गर्नुपर्ने माग राख्दै नगरपालिकाका ४६ जना कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएको हो तर हाकिमसावले सक्दिन भन्नु भयो । अनि हामी कार्यपालिका सदस्यले पनि गुण्डागर्दी गर्ने पिएलाई निकाल्नु पर्छ भनेर मेयरसाबलाई आग्रह गर्दा निकाल्दिन, सकेको गर्नू भनेर चुनौति दिनुभयो’, वडा नं. १२ का अध्यक्ष दिलबहादुर थापाले भने, ‘उसको डरले कर्मचारीहरु कार्यकक्षमा बसेर काम गर्न डराउँछन् । दुव्र्यवहार गर्छ, कुट्छ, भनेर कर्मचारीहरु अल्लि अबेरसम्म बसेर काम गर्न सक्दैनन् । यस्ता पिएलाई निकाल्नुपर्छ भन्ने हाम्रो बटमलाइन हो । ननिकालेसम्म हामी कार्यपालिकाको बैठकमा सहभागी हुदैनौँ ।’ कार्यपालिका र कर्मचारीलाई भन्दा गुण्डागर्दी गर्ने स्वकीय सचिवलाई काखी च्यापेको उनको भनाइ छ ।
गठबन्धन छ भन्दैमा गुण्डागर्दीलाई माफी दिन नसक्ने वडा नं. २ का अध्यक्ष रहमतुल्ला मियाँले दाबी गरे । ‘गठबन्धन छ भन्दैमा सँधैको गुण्डागर्दीलाई सहन सकिन्न’, उनी भन्छन्, ‘हामीले अहिलेसम्म कुनै काममा बाधा अड्चन गरेका छैनौँ तर ज्याकलाई निश्कासन गर्ने यो बटम लाइन छोड्न सक्दैनौँ । उसलाई नहटाएसम्म हामी कार्यपालिका बैठकमा सहभागी हुँदैनौँ ।’