• शनिबार, साउन ९ २०८३

शरणार्थी बनाई अमेरिका पठाउने धन्दा: टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ


बुधबार, बैशाख २० २०८०
1.1K
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् ।

उनी बुधबार बुटवलमा पक्राउ परेका र बिहीबार काठमाडौं ल्याउने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

यसबारे अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।सन्दीपले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन एक करोडको चेक लिएको पाइएको स्रोतको दाबी छ ।

एकै समयमा पक्राउ पूर्जी जारी भएका उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव (तत्कालिन गृहसचिव) टेकनारायण पाण्डेलाई भने आज प्रहरी परिसरले नियन्त्रणमा लिइसकेको छ ।

यसअघि पक्राउ परको तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई मंगलबार पक्राउ परिसकेका छन् । उक्त घटनामा उनका छोरा निरजको समेत संलग्नता रहेको खुलेको छ । यस्तै तत्कालिन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक पनि जोडिएका बताइएको छ ।

प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै झण्डै ९०० नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग उनीहरुको साँठगाँठ खुलेपछि प्रहरीले अनुसन्धानलाइ तिब्रता दिएको छ । गिरोहका सदस्यले रायमाझीका छोरा सन्दीपका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ ।

उक्त घटनामा यसअघि केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ पक्राउ परिसकेका छन् । उनीहरुको बयानका आधारमा घटनामा राजनीतिक उच्च नेतृत्व र सरकारी अधिकारीहरु रहेको खुलेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार