नेपाल एसीसी एसिया कपका लागि छनोट भएको छ । त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कपको फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा स्थान बनाएको हो ।
नेपालले अब पाकिस्तानले आयोजना गर्ने एसिया कप खेल्नेछ । एसिया कपमा नेपालले पाकिस्तान र भारतको समूहमा रहेर खेल्नेछ । यसको अर्थ नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न पाउनेछ ।
यूएईविरुद्ध जितका लागि चाहिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपाललाई जित दिलाउन गुल्सन झाले ६७ रन तथा भिम शार्कीले ३६ रन बनाए ।
नेपाल दोस्रो पटक एसिया कपका लागि छनोट भएको हो। नेपाल यसअघि सन् २००२ मा एसिया कपका लागि छनोट भएको थियो।
सिंगापुरमा भएको एसिसि ट्रफीको फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। त्यो समयमा भारत र पाकिस्तानको कार्गिल युद्ध चलिरहेका कारण एसिया कप हुन सकेन।