Doctor with a stethoscope in the hands and hospital background.
काठमाडौं । डाक्टरकाे परामर्श शु्ल्क बढ्ने भएकाे छ । नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) को बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो ।
चिकित्सक संघ र अफिनले एक विज्ञप्ति जारी गर्दै चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय भएको जनाएको छ ।
१८ चैत २०७९ मा बसेको नेपाल चिकित्सक संघ र अफिनको संयुक्त बैठकबाट नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति दर तथा शुल्क निर्धारण समितिको सिफारिसलाई आधार मानी नयाँ परामर्श शुल्क सार्वजानिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
जसअनुसार अब एमबीबीएस र बीडीएस चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ४२० र ५ वर्षभन्दा बढी अनुभव भएकाहरुले ५१५ रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन् ।
यस्तै, डिप्लोमा चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ५९० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ६७० शुल्क लिन पाउनेछन् ।
यस्तै, एमडी, एमएस र एमडीएस चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ७५० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ८०० रुपैयाँ शुल्क लिन पाउनेछन् ।
डीएम तथा एमसीएच गरी ५ वर्ष अनुभव भएकाहरुले परामर्श शुल्कवापत ८८० रुपैयाँ लिन पाउनेछन् ।
डीएम तथा एमसीएच गरी ५ वर्षभन्दा बढी अनुभव भएका तथा एमडी एमएस, एमडीएस गरी १० वर्षभन्दा बढी अनुभव भएकाहरुले ९४० रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन् ।
निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा मासिक रुपमा नियुक्ति लिएका मेडिकल अफिसरको हकमा भने न्यूनतम तलब ४२ हजार रुपैयाँ कायम गराउने पनि विज्ञप्तिमा उल्लेख छ ।