हेटौँडा उपमहानगरपालिकामा ६३ जना बालश्रमिक रहेको पाइएको छ । उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेका अनुसार पहिलो चरणमा १९ वटै वडामा संकलन गरिएको प्रारम्भिक तथ्यांकमा ६३ जना बालबालिकामा श्रममा रहेको पाइएको हो ।
वडागत विवरणअनुसार सबैभन्दा बढी वडा नम्बर ४ मा नौ जना छन् भने वडा नं ६ मा १२ जना छन् । साथै वडा नं १६ मा भने बाल श्रमिक नभेटिएको प्रमुख लामिछानेले भने। उनले बाल श्रमिकमा बालक ५५ जना र बालिका आठ जना रहेको जानकारी दिए ।
अठार वर्षमुनिका बालबालिकालाई श्रममा लगाइएको कानुनले बन्देज गरेको छ । कूल ६३ जनामा १७ वर्षका १४ जना, १६ वर्षका १३ जना, १५ वर्षका १५ जना, १४ वर्षका १३ जना, १३ वर्षका पाँच जना र १२ वर्षका तीनजना बाल श्रमिक छन् । उनीहरुमध्ये मकवानपुरका ३३ जना, बाहिर जिल्ला २२ र छिमेकी राष्ट्र भारतका सात जना र एक जनाका विवरण नखुलेको प्रमुख लामिछानेले बताए ।
उनीहरुमध्ये मोटर ग्यारेजमा काम गर्ने बाल श्रमिक २२ जना, रेष्टुराँ, होटल र ब्यांकेटमा १२, यातायात क्षेत्रमा १२, निर्माण ढुवानीमा सातजना, घरायसी काममा तीनजना, कवाडी र फ्याक्ट्रीमा दुई-दुई जना र अन्यमा तीन जना रहेको पाइएको छ ।