‘गोरखा भूकम्प’को केन्द्रविन्दु बारपाक हिजो संस्कृति र प्राकृतिक सुन्दरताका कारणले स्थापित थियो । वीर गोरखाली, भिक्टोरिया क्रस प्राप्त गर्ने नेपालीको छोरोको जन्मस्थलका रुपमा प्रख्यात थियो ।
अनि एक मौलिक र सुन्दर पर्यटकीय गन्तव्यका रुपमा परिचित थियो । लाहुरेहरुको गाउँ भनेर पनि चिनिन्थ्यो । गुरुङ, घले र दलीत समुदाय बस्ने बारपाक अहिले भूकम्पको केन्द्रविन्दुका रुपमा परिचित छ । विसं २०७२ पछि यसले पुरानो मौलिकता गुमाएको छ तर नयाँ परिचय थपेको छ ।
विसं २०७२ को भूकम्पको थलो (केन्द्रविन्दु) ले आन्तरिक मात्रै होइन विश्व समुदायका लागि एक महत्वपूर्ण पर्यटकीय र अध्ययन केन्द्र बन्न पुगेको छ बारपाक । यति महत्वपूर्ण भएर पनि बारपाकीहरु विविध पुर्वाधारका अभावमा पिल्सिरहेका छन् । उनीहरु कयौँ अधुरा सपनाहरु बोकेर बसिरहेका छन् । विकासमा सङ्घीय सरकारको मुख ताकिरहेका छन् ।
स्थानीयहरु व्यवस्थित सडक पूर्वाधारको माग गरिरहेका छन् । सबै विकास सडक पुर्वाधारका कारण नै अबरुद्ध हुने गरेको भन्दै उनीहरुले पहिलो काम भने सडक नै रहेको बताए । नेता मन्त्री पुगे भने पहिलो माग नै सडक पूर्वाधार हुने गरेको छ ।
हुन त १२ किलोबाट बारपाकमा सडक पुगेको छ । तर धेरै ठाउँमा कालोपत्रे छैन । त्यस आसपासका अन्य गाउँहरु जान बनेका कच्ची सडकहरु स्थायी हुन्नन् । पानी पर्ने वित्तिकै ती सडकहरु गाडी चल्न सक्ने अबस्थाका हुँदैनन् । जसले सबै दैनिक जनजीवन नै प्रभावित भइदिन्छ ।
बारपाकमा सडक, बिजुली, खानेपानी र ढल निकासलगायतका समस्याहरु कायमै छ । केही अघि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शहरी विकास मन्त्री सीता गुरुङ पुग्दा पनि स्थानीयको पहिलो माग भनेकै व्यवस्थित सडक पूर्वाधार थियो ।
“अहिले हेर्दा यहाँ सडक छ, गाडी चलेकै देखिन्छ, तर पानी पर्न थालेपछि माथिलो भेग चढ्न सकिँदैन, केही योजनाहरु परेका छन्, पुरा हुँदैन, यो वर्ष पनि कालोपत्रेको योजना परेको छ, काम भने सुस्त गतिमा छ”, गाउँपालिकाकी उपाध्यक्ष सनमाया गुरुङले भनिन् ।
उनका अनुसार बाटो नभएपछि अन्य कामहरु अघि बढ्न नसक्ने हुँदो रहेछ । स्थानीयहरु पनि अन्य कामलाई काम नै नठान्ने सडक पुर्वाधार भयो भने मात्रै काम गरेको महसुस गर्ने गरेका उनी सुनाउँछिन् । हुन पनि हो, बाटो नभए विरामीलाई कसरी अस्पताल लैजाने ? सडककै अभावमा दैनिक कामसमेत अबरोध भइदिन्छ ।
गोरखाका यस्ता पहाडी एबं हिमाली पर्यटकीय क्षेत्रमा होमस्टेहरु खुलेका छन् । पर्यटकहरुलाई स्वागत गर्न स्थानीयहरु सक्रिय छन् । तर त्यसका लागि पनि पहिलो काम सडक पुर्वाधार व्यवस्थित गर्नु रहेको स्थानीयहरु सुनाउँछन् । स्थानीयहरुले सरकारसँग बारपाक ओम्रा लिसाङपुङ सडकका लागि बजेट विनियोजन गर्नसमेत माग गरेका छन् भने भूकम्पस्मृति पार्कको बाँकी काम पुरा गर्न पनि माग गरेका छन् ।
बारपाकमा बिजुली, ढल निकासका अर्काे समस्याको विषय हो । बारपाककै गाउँमा भन्ने हो भने ढल व्यवस्थापनमा ठुलो समस्या छ । यद्यपि बारपाक ढल निकास आयोजनाको ठेक्का भएकाले समयमै निर्माण सम्पन गर्नुपर्ने चुनौती छ । यो पनि उनीहरुका अधुरा सपनाभित्र परेको छ ।
यहाँ जलविद्युत आयोजनाका कारण विसं २०४८ पछि नै गाउँ सामान्यत झिलीमिली भए पनि पछिल्लो समयमा विद्युतमा केही समस्याहरु भेटिए । केन्द्रिय प्रसारण लाइनहरु राम्ररी जोडिइसकेका छैनन् । बिजुलीको व्यवस्थापन पनि उनीहरुको सपनाभित्र पर्छ ।
लोभलाग्दो पर्यटन केन्द्र, तर पूर्वाधार अभाव
समुन्द्रसतहबाट २ हजार ३०० मिटरको उचाइमा रहेको यो बारपाक गाउँ बुद्ध हिमालको काखमा छ । सामुन्य देखिने हिउँका छायाँले मोहित पार्ने बारपाक एक उपत्यका जस्तै वस्ती महसुस गर्न सकिन्छ । पारी पाखामा सेताम्मे हिँउको मुस्कुराहटले पर्यटकलाई खुबै लोभ्याउँछ ।
स्थानीयका संस्कृति रहनसहन तथा आफ्नै व्यवहार र चलनले आगन्तुकलाई उत्सुक बनाईदिन्छ । यहीका बीच विहेवारीदेखि जग्गा समेत बाहिरका मासिनहरुलाई किनबेच नगर्ने उनीहरुको चलन छ । प्राकृतिक सुन्दरताले भरिएको बारपाक विगतमा विश्वयुद्धमा भिक्टोरिया क्रस विजेता गजे घरेको गाउँका रुपमा परिचित थियो ।
अब समग्र भौतिक पुर्वाधार विकास गर्न बारपाक हुँदै जाने पर्यटक पदमार्ग विस्तार गर्न जरुरी छ । यसमा सङ्घीय सरकारको सहयोगको खँचो छ । यस्तै बारपाक, नारद पोखरी, दुध पोखरी हुँदै लमजुङ पुग्ने तालकुण्ड मार्ग बनाउनुपर्ने जरुरी छ । त्यसका लागि अध्ययन कार्यदलसमेत बनाएकाले सङ्घीय सरकारको सहयोगको खाँचो रहेको छ ।
यहाँको इपिसेन्टर सर्किट पदमार्ग बनाउनका लागि अध्ययन भइरहेकाले सङ्घीय सरकारको आशा खोजेको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्ट बतउँछन् ।
सुविधा खोज्न गाउँलेले कुनै विरह गाउन पर्दैन भन्ने दिन बनाएर फेरि भेटौँला
केही अघि बारपाक पुगेकी शहरी विकासमन्त्री सीता गुरुङ् वस्ती विकास कार्यक्रम ल्याउने आश्वासन दिएर फर्किएकी छिन् । बारपाकलाई छुट्टै पर्यटकको गन्तव्यका रुपमा विकास गर्न जरुरी रहेको उल्लेख गर्दै उनले भनिन्, “सबै सुविधा प्राप्त गर्न गाउँलेले कुनै विरह गाउन पर्दैन भन्ने दिन बनाएर फेरि भेट्न पाउँ भन्ने अपेक्षा छ ।”
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बारपाक अफैँमा सुन्दर बस्ती रहेको र एक पटक आएपछि फेरि जाउँजाउँ लाग्ने बस्ती भएको स्मरण गरे । पर्यटकीय वस्तीमाथि भुकम्पपछाडि अन्तर्राष्ट्रिय रुपमा अरु थप चिनारी विकास भएको उनले बताए ।
अझै भूकम्पको पुनःस्थपानका बाँकी काम गर्नुपर्ने, पीडितहरुको समस्या अझै बाँकी रहेकाले समाधान गर्नुपर्ने, पार्कको निर्णणलाई पूर्णता दिने काम बाँकी रहेकाले त्यसलाई पुरागर्ने उनले आश्वासन दिएर फर्किएका छन् ।
उनले बारपाकलाई विकसित र समृद्ध बनाउन तथा महत्वपूर्ण पर्यटकीय केन्द्र बनाउन आवश्यक विकास र स्मृतिका अरु कामलाई प्राथमिताका क्रम निर्धारण गरी अघि बढाउने प्रतिबद्धता पनि जनाए । श्रेष्ठले कालोपत्रे, बिजुली र ढललगायतका काम अघि बढाउन पनि पहल गर्ने अश्वासन दिएका छन् ।
उनले स्थानीय सडक निर्माण व्यवसायी र ठेकेदारले काम ढिलाइ गरिरहेको अबस्थामा छिट्टै पीच गरेर उत्तरी नाका खोल्दै चीनसँग सम्पर्कसञ्जाल विस्तारमा ध्यान दिने पनि बताए ।
अधुरै छ भुकम्प स्मृति पार्क
विश्वकै लागि अध्ययनको केन्द्र रहेको विसं २०७२ को भूकम्पको स्मृतिमा निर्माण गरिएको पार्क अधुरै छ । पार्क जे सन्देश दिन स्थापना गरिएको हो, त्यो पुरा हुन सकिरहेको छैन ।
स्थानीय हरि घले आज आठ वर्ष हुँदा पनि पार्क निर्माण सम्पन्न गर्न नसक्नु दुखद कुरा भएको बताउँछन् । “गोरखाका गाउँलेहरुको विकासको प्रतिक्षामा छन्, संघले विकासमा साथ दियोस्”, घलेले भने ।
भूकम्पमा परी निधन भएकाको स्मृतिका लागि सरकारले भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्प स्मृति उद्यान निर्माण थालेको हो । उद्यान निर्माण सुरु गरेको साढे पाँच वर्ष भइसक्दा पनि अझै अपुरै छ ।
विसं २०७४ मङ्सिर १४ गते ठेक्का सम्झौता गरी सुरु गरिएको थियो । झन्डै दुई सय १६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैँचालगायतका संरचना बनेका छन् । त्यहाँ बन्ने स्तम्भमा भूकम्पमा परी मृत्यु भएका १४ वटै जिल्लाका मृतकको छुट्टाछुट्टै स्तम्भ रहेन छ ।
सुरुमा रु १३ करोड छ लाखमा ठेक्का सम्झौता गरिए पनि अहिले बजेट बढेर रु १५ करोड ५१ लाख पुगेको छ । स्थानीय जीतबहादुर घले भुकम्पको केन्द्रविन्दु बनेको बारपाकलाई विश्वभरको अध्ययन केन्द्र बनाउन माग गरे । यो गाउँलाई आत्मनिर्भर गाउँ बनाउन जरुरी रहेको भन्दै उनले आउने पर्यटकलाई सुरक्षित छु भन्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।
विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा त्यही बारपाक केन्द्र भएर गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार नौ सय ९० जनाको मृत्यु भएको थियो भने २२ हजार तीन सय नौ जना घाइते भएका थिए । त्यस भूकम्पमा बारपाक सुलिकोट गाउँपालिकामा १४८ को मृत्यु भएको थियो भने बारपाक गाउँमा मात्रै ७२ को मृत्यु भएको थियो ।