काठमाडौं । गत बर्ष नेपालबाट ७२ देशका लागि नेपाली विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लेटर लिएका छन् ।
गएकाे २०७९ सालमा ७२ देशका लागि १ लाख १७ हजार जना भन्दा बढीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार विभिन्न ७२ देशमा अध्ययन गर्न जान १ लाख १७ हजार ५६३ जनाले एनओसी लिएका छन् ।
विद्यार्थीले विभिन्न ५६ वटा शैक्षिक कार्यक्रमको लागि एनओसी लिएको शाखा प्रमुख बासुदेव वस्तीले जानकारी दिए ।
सबैभन्दा बढी अस्ट्रेलिया गए
वैदेशिक अध्ययन गर्नको लागि सबै भन्दा बढी अस्ट्रेलियाका लागि एनओसी लिएका छन् । शाखा प्रमुख वस्तीका अनुसार गएको वर्ष अस्ट्रेलियाका लागि मात्रै ५० हजार ७४२ जनाले एनओसी लिएका छन् ।
जापानका लागि २० हजार ३ जनाले, क्यानडाका लागि १६ हजार ७१६ जनाले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् । त्यस्तै संयुक्त अधिराज्य बेलायतका लागि ८ हजार ७०७ जनाले, अमेरिकाको लागि ५ हजार ८२ जनाले, दक्षिण कोरियाका लागि दुई हजार २२५ जनाले एनओसी लिएका छन् ।