काठमाडाैँ । वैदेशिक रोजगारमा नेपाली कामदार पठाउँदै आएका मेनपावर व्यवसायीहरुलाई सरकारले क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले दुई दिने कार्यक्रम शुरु गरेको छ ।
वैदेशिक रोजगार बोर्डले काठमाडौँमा आइतबारबाट शुरु गरेको वैदेशिक रोजगार व्यवसायीहरूको क्षमता अभिवृद्धि सम्बन्धि दुई दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले गर्दै मेनपावर व्यवसायीलाई नयाँ गन्तब्य खोज्नका लागि आग्रह गरेका छन् ।
कार्यक्रममा मन्त्री भण्डारीले हरेक दिन गलत ढङ्गबाट भएपनि श्रमिक गन्तव्य मुलुक गइरहेकाले अब खुला बजारको खोजी गर्नुपर्ने आवश्यकता रहेको बताए । “अब नयाँ गन्तव्य मुलुकको खोजी गर्नु अपरिहार्य छ”, उनले भने, “मुलुकमा नेपाली श्रमिकको दक्षताको ब्राण्डिङ गर्नुपर्ने बेला भएको तर यसका लागि व्यवसायीहरूको पनि क्षमता अभिवृद्धि हुनुपर्छ ।”
मन्त्री भण्डारीले सरकारले सम्मानजनक हिसाबले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने काम गरिरहेकाले यस कार्यमा सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । उनले भने “वैदेशिक रोजगारको क्षेत्रमा समस्या भनेको व्यवसायी होइन, एजेन्ट हो ।”
“सरकार व्यवसायी होइन, सहजीकरण गर्ने नियामक निकाय मात्र हो । व्यवसायीले च्यारिटी गर्दैन, उपयुक्त सेवा शुल्क लिन्छ ’’ उनको भनाई थियो, “तर यसका लागि हामी मर्यादित हुनुपर्छ” ।
उनले सरकारले श्रमिक र व्यवसायीको हितमा एकद्वार प्रणालीमार्फत काम गर्न ७ सय ५३ स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई सक्रिय बनाइएको पनि जानकारी दिए ।
कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले विगत एक वर्षयता वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउन डिजिटल र प्रादेशिक पहुँचमा बिस्तार गरेको उल्लेख गर्दै व्यवसायलाई पारदर्शी बनाउन सकारात्मक प्रयास भइरहेको जानकारी दिए ।
“५७ प्रतिशत नेपालीको घरमा विप्रेषण पुगेको छ । हाल २२ प्रतिशत कुल ग्राहस्थ उत्पादनमा सहयोग गरेको वैदेशिक रोजगारको क्षेत्रबारे नकारात्मक टिप्पणी हुनु हामी सबैको लागि राम्रो होइन ।”, उनले भने, “एक सय जना श्रमिक गन्तव्य पु¥याउने कुरा अन्तर्राष्ट्रिय श्रम सङ्गठन कै विपरीत भएकाले केही ऐन संशोधन गर्नेतर्फ छलफल भइरहेको छ , अब छिट्टै व्यवसाय र व्यवसायीको निम्ति पनि ठोस निर्णय आउनेछ ।”
आजसम्म सञ्चालन हुने गोष्ठीमा वैदेशिक रोजगारका सवालहरू, व्यावसायिक नैतिकता र इमानदारिता एवं बोर्ड सचिवालयको परिचयात्मक जानकारीका विषयमा प्रस्तुति र अन्तरक्रिया हुनेछ ।
कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघले प्रकाशन गरेको यस वर्षको क्यालेन्डरको विमोचन पनि गरिएको थियो । हाल देशभर ८ सय ९० वटा इजाजत प्राप्त वैदेशिक रोजगार व्यावसायिक संस्थाहरू रहेका छन् ।