• शुक्रबार, साउन ८ २०८३

रोक लगाइएको देशमै पुग्छन् भिजिट भिसामा नेपाली महिला, २५ सय जना एयरपोर्टमै रोकिए


आइतबार, बैशाख ३ २०८०
1.4K
Shares

काठमाडौँ । नेपालबाट वैदेशिक रोजगारीमा जाँदा श्रमिकहरु अनेकौ झमेला र ठगीमा पर्नु नौलो विषय होइन । केही मेनपावरदेखि विचौलियाहरु गाउँगाउँका वेरोजगार युवाहरुलाई ठग्न बाटो कुरेर बस्ने गरेका हुन्छन् ।

विचौलिया र मेनपावरबाट ठगिएको भन्दै श्रमिकले दिएका निवेदन र उजुरीको वैदेशिक रोजगार विभागमा चाँङ नै छ । ठगीका अनेकौ तरिका विचौलियाले अपनाउने गरेका छन् ।

त्यसको पछिल्लो उदाहरण हो भिजिट भिसा । पछिल्लो समय विचौलियाले नेपाली श्रमिकलाई ठग्न भिजिट भिसा प्रयोग गर्ने गरेका छन् । त्यो पनि महिलालाई घरेलु कामदारका रुपमा अनुमति नै नभएका देशमा विचौलियाले भिजिट भिसामार्फत त्यस्तो देशमा महिला कामदार पठाउने गरेका छन् । वैदेशिक रोजगारीमा भिजिट भिसाको चरम दुरुपयोग हुन थालेको तथ्याङ्कले देखाएको छ ।

२५ सय जना विमानस्थलमै रोकिए

पछिल्लो समय वैदेशिक रोजगारीमा जाँदा भिजिट भिसाको प्रयोग गर्दा अधिकांश नेपाली कामदार विदेशमा गएर अलपत्र पर्न थालेपछि केही वर्षदेखि त्रिभुवन विमानस्थलमा मानव बेचबिखन अनुसन्धान व्युरोका एउटा टुकडी नै राख्न थालिएको छ ।

२०७५ सालमा विमानस्थलमा बव्युरोले डेस्क स्थापना गरेर यसमा कडाई गर्न थालेपछि अहिले हरेक महिना सयौँको सङ्ख्यामा भिजिट भिसाधारी कामदार समातिन थालेका छन् ।

व्युरोसँग रहेको पछिल्लो तीन महिनाको रिपोर्ट हेर्ने हो भने करिब १ हजार ५ सय जनालाई व्युरोले विमानस्थलबाटै फर्काइदिएको छ ।

रोजगारी खोज्न भिजिट भिसामा जाँदा अधिकांश यौन शोषणमा पर्ने, अलपत्र पर्ने तथा मानव बेचबिखनमा समेत पर्ने गरेक छन् । व्यूरोको टोलीले हरेक कामदारमाथि निगरानी बढाएसँगै विमानस्थलबाट हरेक महिना सयौँ जना फिर्ता हुने गरेको व्युरोका प्रवक्ता कृष्णप्रसाद पंगेनीले सिभिलखबरलाई बताए ।

पछिल्लो तीन महिनामा १ हजार ४ सय ६० जनालाई व्युरोले सम्झाईबुझाई विदेशिनबाट रोकेर घर फिर्ता गरेको उनले जानकारी दिए । जसमा माघमा महिला र पुषमा गरी २ सय ५०, फागुनमा ५ सय ५७ महिला र चैत २७ सम्म महिला पुरुष गरी ६ सय ५३ जनालाई भिजिट भिसामा विदेश जान रोकिएको व्युरोले जनाएको छ ।

त्यस्तै हालसम्म व्युरोले शंकास्पद रुपमा भिजिट भिसामा जाने खोज्ने २ हजार ४ सय ६६ जनालाई रोकेर घर फर्काएको प्रवक्ता पंगेनीको भनाइ छ । यसरी घर फर्किएकामध्ये अधिकांश महिला रहेको बताइएको छ ।

वैदेशिक रोजगारीमा जान विमानस्थल पुगेकालाई नै आफू कुन देश जान लागेको, गएर के काम गर्नुपर्ने हो भन्ने विषय थाहा नभएको पाइएको व्युरोले जनाएको छ । व्युरोका अनुसार उनीहरूमा आफू जान लागेको देशको भाषासम्बन्धी ज्ञान र सीपको पनि अभाव रहेको देखिएको छ ।

बैंक स्टेटमेन्ट, श्रम स्वीकृति, भिजिट भिसा र शैक्षिक प्रमाणपत्र नक्कली भएकालाई फर्काउने गरिएको व्युरोको भनाइ छ । खासगरी अवैध तरिकाले घरेलु कामदारका रूपमा भिजिट भिसामा विभिन्न देशमा जान लागेकालाई यसरी फर्काउने गरिएको छ ।

‘उता गएर फसे, अलपत्र परे, बेखबिचनमा पर्ने, यौन शोषणमा पर्ने र अमानवीय कार्य बढ्यो भनेर हामीकहाँ उजुरी बढ्न थालेपछि हामीले विमानस्थलमा कडाई गरेका हौँ’ एसपीसमेत रहेका प्रवक्ता पंगेनी भन्छन् ‘यसमा सबैभन्दा बढी महिलाहरु पिडित बनेको हाम्रो तथ्याङ्कमा छ ।’

भिजिट भिसामा जान सरकारले तोकेको १७ वटा बुदाको मापदण्ड तोकेको छ । सो मापदण्डमा नपर्नेलाई शङ्काको घेरामा राखेर सोधपुछ गर्दा उनीहरुलाई वैदेशिक रोजगारीको बारे कुनै जानकारी नहुने गरेको पाइएको व्युरो बताउँछ ।

त्यस्तै श्रम स्विकृति चाहिने भनेपछि केहीले नक्कली श्रम स्विकृतिको समेत प्रयोग गर्ने गरेको पाइएको पंगेनीले बताए ।

‘हाम्रो मुख्य उद्देश्य भनेकै नागरिकले विदेशमा गएर दुख नपाउन्, अलपत्र नपरुन भन्ने हो’ उनले भने । सरकारले महिलालार्इ घरेलु कामदारका रुपमा पठाउन बन्देज गरेको देशहरुमा बढी प्रयोग हुने गरेको पाइएको समेत उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार