गोरखा । जिल्लामा वैशाख २२ गतेदेखि जेठ १ गतेसम्म सवा लाख रोट महोत्सव हुने भएको छ । सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा गोरखनाथ गुफामा २० औँ रोट महोत्सव गर्न लागिएको हो ।
सिद्धाश्रमका केन्द्रीय संयोजक रामजी अर्यालले शनिवार गोरखामा आयोजित पत्रकार सम्मेलमा उक्त जानकारी दिएका हुन् । केन्द्रले हरेक वर्ष राजा पृथ्वी नारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनको रुपमा वैशाख पूर्णिमादेखि ११ दिनसम्म रोट महोत्सव गरेर रोट अर्पण गर्दै आएको उनले बताए ।
यो पटक २० देखि ३० हजार भक्तजन रोट महोत्सवमा सहभागी हुने आयोजकले अनुमान गरेको छ । उनका अनुसार महोत्सव आयोजनाका लागि २० देखि २५ लाख खर्च लाग्ने बताएको छ ।
महोत्सवमा लाग्ने खर्च शक्ति केन्द्र, भक्तजन, स्थानीय समाजसेवी, संघ संस्थाबाट जुटाईने केन्द्रले जनाएको छ । रोट महोत्सवले गोरखाको धार्मिक पर्यटनको विकासमा पनि मद्धत पुग्ने केन्द्रीय अध्यक्ष अर्यालको भनाई छ । गोरखनाथलाई सबैभन्दा बढी मनपर्ने भएकाले रोट चढाएर खुसी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मिक मान्यता रहेको छ ।
रोट महोत्सवले जिल्लाको सांस्कृतिक, धार्मिक, एतिहासीक पर्यटनको बिकास गर्ने गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगरले बताए ।
पहिलो दिन बैशाख २२ गते बिहान ८ बजे सद्गुरुदेवहरुले रथ सहित बाजागाजामा गोरखा बजारबाट गोरखनाथ मन्दिर सम्म यात्रा गर्नेछन । यात्रामा कलससहितका १०८ कन्या, नाथयोगीहरु प्लेकाड र ब्यानरसहितका बिद्यार्थी लगायत बिभिन्न संघसंस्थामा आबद्ध ब्यक्तिले समेत सहभागि हुने आयोजकले जनाएको छ ।
वैशाख २३ देखि ३१ गते सम्म गुरु गोरखनाथको बिशेष पुजा, देवीदेवताहरुको पुजा, बिशेष हवन, मन्त्रजब, स्तुति बन्दन, स्तोन पाठ, दिव्य गुरु, आरतीलगायत भजन किर्तन र भण्डारा सञ्चालन हुनेछ ।
महोत्सव समापन दिबसको रुपमा वैशाख १ गते पत्रम्प्ष्पम सहित रोट महोत्सवमा सकृय नाथ योगीहरु अन्य सहयोगी कर्मचारीहरुलाई विदाई समारोहको आयोजना हुनेछ ।
गहुँ, जौ र चामलको पिठोमा बिभिन्न ५२ थरीका शक्तिवर्द्धकका मसला मिसाएर रोट बनाईन्छ । रोटमा ल्वाङ, सुकुमेल, छोहरा, काजु, किसमिस, जाईफल, दाख, चिनी, खुदो, नरिबल जस्ता परिकार मिसाईन्छ । नाथहरु शुद्ध भई पिठोमा किसमिस मिसाएर रोटलाई स–साना गोली बनाउँदै घ्यूमा पोल्ने गर्छ ।
कार्यत्रममा उपस्थित हुने सम्पुर्ण भक्तजनहरुलाई निसुल्क भोजन र आवासको व्यवास्था गरीएको आयोजकले जनाएको छ ।
सिद्धाश्रम शक्ति केन्द्रका केन्द्रीय अध्यक्ष रामजी अर्यालको अध्यक्षता तथा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना मगरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा सिद्धाश्रम शक्ति केन्द्रका गोरखा जिल्ला संयोजक किशोर कुमार अकेला, जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख प्रशासकीय अधिकृत चुडानिधि तिवारी, बिन्दु बराल, नेपाल पत्रकार महासघं गोरखाको अध्यक्ष नरहरी सापकोटा, गुरु गोरखनाथका गुरु प्रदिप नाथ योगीलगायतले मन्तब्य राखेका थिए ।