काठमाडौं- स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौँ राष्ट्रिय सम्मेलन सकिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको दुई दिने सम्मेलन सात बुँदे घोषणा पत्र सार्वजनिक गर्दै सकिएको हो।
‘स्वास्थ्यका लागि अनुसन्धानः कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ भन्ने नारासहित आयोजित सम्मेलनको अन्तिम दिन बुधबार परिषद्का सदस्यसचिव डा प्रदीप ज्ञवालीले सात बुँदे काठमाडौं घोषणा सार्वजनिक गरेका हुन्।
यस्ता छन् घोषणा पत्रका सात बुदा
१. राज्यका सबै तहमा अनुसन्धानकर्ता, नीति निर्माता तथा कार्यक्रम व्यवस्थापकहरुबीच मजवुत सम्वन्ध विकास गर्दै तथ्यमा आधारित प्रमाणलाई नीति तथा कार्यक्रममा प्रयोग गर्ने ।
२. संयन्त्रको बढावा सुदृढिकरण सस्थागत गर्ने।
३. उच्च गुणस्तरको स्वास्थ्य नीति र प्रणालीगत अनुसन्धानका लागि अनुसन्धान तथा शैक्षिक संस्थाहरुबीचको आवश्यक सहकार्यलाई मजबुत एवं प्रवर्धन गर्ने।
४. स्वास्थ्यका बृहत्तर निर्धारकहरुलाई सम्बोधन गर्न गुणात्मक प्रमाणको आधारमा समाधानका उपायहरु पहिचान गर्न बहुक्षेत्रीय सरोकारवालाहरु बीचको समन्वय, सहकार्य, र साझेदारीलाई सुदृढीकरण गर्ने।
५. स्वास्थ्य प्रणालीका समस्याहरुलाई नविनतम समाधान प्रदान गर्ने नवपरिवर्तनमुखी अनुसन्धानलाई मूल्यांकन प्रवर्धन र बृहत्तर कार्यन्यनका लागि संयन्त्र विकास एवं संस्थागत गर्ने ।
६. जनतालाई वित्तीय जोखिमबाट बचाउँदै स्वास्थ्यमा विश्वव्यापी पहुँचतर्फ प्रगतिशील उपलब्धी हासिल गर्दै, समतामुलक पहुँचलाई सहजिकरण गर्न अनुसन्धानमा आधारित प्रमाणको उत्पादन तथा प्रयोग प्रवर्धन गर्ने।
७. प्रमाणको आधारमा नीति तथा कार्यक्रम निर्माणको व्यवस्थित संयन्त्र स्थापित गर्न यस अघिका सम्मेलन तथा त्यसका घोषणाहरुको समिक्षा तथा विश्लेषण गर्ने।
