काठमाण्डौ । सरकारी प्रक्रियामार्फत रोजगारीका लागि इजरायल पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दुई जना महिलालाई जी टु जी सम्झौतामार्फत इजरायल रोजगारीमा पठाइदिन्छु भन्दै प्रतिव्यक्ति १ लाख ८० हजार रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएका बर्दिया घर भई अहिले काठमाण्डौको लाजिम्पाट बस्ने २६ वर्षीय सुनिल कुमार यादवलाई पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनले सरकारी कोटामा इजरायल पठाउने र त्यहाँ पुगेपछि कृषि क्षेत्रमा काम लगाइदिने भन्दै प्रतिव्यक्ति १ लाख ८० हजार रुपैयाँ उठाएका थिए । तर रकम लिएपछि फरार भएका थिए ।
पीडितले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि विभागले पक्राउ गरी उपस्थित गराइदिन कार्यालयलाई अनुरोध गरेको थियो । जसअनुसार मङ्गलवार सुनिल कुमार यादवलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ ।