काठमाडौं। विश्व स्वास्थ्य दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन सकारले प्रयत्न गरिरहेको बताएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री दाहालले भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गरेका हुन।
संयुक्त राष्ट्रसंघ अन्तर्गत विश्व स्वास्थ्य संगठनको स्थापना सन १९४८ अफ्रिल ७ मा गरिएको थियो। सोही दिनको स्मरणमा अप्रिल ७ मा विश्व स्वास्थ्य दिवस मनाइँदै आएको छ।
स्वास्थ्यमा सर्वव्यापी पहुँचको अवधारणालाई व्यवहारिक बनाउन, प्राथमिक स्वास्थ्य सेवाको विस्तारमा जोड दिइएको, स्वास्थ्य सम्बन्धि राष्ट्रिय रुपमा तय गरेका लक्ष्य, दिगो विकासका लक्ष्यहरु र अन्तर्राष्ट्रिय मञ्चमा गरेका विभिन्न प्रतिवद्धताहरु पूरा गर्न आवश्यक नीति, रणनीति तथा कार्यायोजना बनाई प्रभावकारी कार्यान्वयनमा जोड दिइएको पनि दाहालको भनार्इ छ।
नेपालले स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट, कार्यक्रम प्रणाली, संरचना, उपकरण र दक्ष स्वास्थ्यकर्मीको परिचालन र व्यवस्थापनमार्फत स्वस्थ र निरोगी नेपालको लक्ष्य लिएको पनि उनले बताए ।
यो लक्ष्य पूरम गर्न हाम्रा संरचनाहरु क्रियाशील रहेको र गुणस्तरीय स्वास्थ्य सेवामा आम जनताको पहुँचका लागि अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ।
स्वास्थ्य संरचनाको सुदृढिकरण, जनशक्ति व्यवस्थापन र सामुदायिक स्वास्थ्यको प्रवर्द्धन गर्न जरुरी रहेको प्रधानमन्त्री दाहालको ठहर छ।
यसका लागि सरकारका सबै मन्त्रालय र मातहतका कार्यालय, सरोकारवाला संघसंस्था तथा बहुक्षेत्रीय निकायबीच समन्वय र सहकार्यलाई थप मजबुद बनाउन आवश्यक रहेको पनि उनले बताए।