काठमाडौं । सरकारले श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने व्यवस्था आगामी वैशाख १ गते कार्यान्वयनमा आउने भएको छ ।
उक्त व्यवस्था कार्यान्वयनमा ल्याउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको छ ।
स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न सकिने व्यवस्था कार्यान्वयनका लागि परिपत्र गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
वैशाख १ गतेदेखि स्थानीय तहबाटै वैदेशिक रोजगारी सम्बन्धी सूचना सरोकारवालामा पुर्याउने र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्न सकिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन शाखाले जनाएको हो ।
वैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारको व्यक्तिगत तथा पुनः श्रम स्वीकृतिको अनलाइन आवेदन कार्य एवं वैदेशिक रोजगार सम्बन्धी सूचना प्रवाह गर्ने कार्यमा ७५३ स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई जिम्मेवारी तोकिसकिएको छ ।
२०८० वैशाख १ गतेदेखि कार्यान्वयन गर्न श्रम मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहमा परिपत्र गर्ने चैत १६ गते प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णय भएको हो ।
