काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले विदेशबाट अंगभंग भएर फर्किएका नेपाली श्रमिकलाईहरूका लागि सरकारले कुनै काम गर्न नसकेको बताएका छन्।
बिहीबारको प्रतिनधि सभाको बैठकमा बोल्दै उनले यस्तो दाबी गरे। उनले सरकारले विदेशबाट बाकसमा शव फर्किएका नेपाली श्रमिकलाईहरूका परिवारका लागि के सोचेको छ? भन्दै प्रश्न गरे।
उनले विदेशमा रहेका नेपालीहरूले पैसा नपठाउने हो भने मुलुक श्रीलंका र पाकिस्तानभन्दा अगाडि नै असफल मुलुक हुने दाबी गरे।
सांसद सिंहले अयोग्य लडाकुलाई करोडौं रुपैयाँ बाँड्न सक्ने सरकारले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीहरूका लागि कुनै काम गर्न नसकेको टिप्पणी गरे।
‘विदेश गएका हाम्रा युवाहरूले पठाएको पैसाबाट देश चलेको छ। उनीहरूले पैसा नपठाउने हो भने हाम्रो देश श्रीलंका र पाकिस्तानभन्दा पहिला नै असफल मुलुक भइसक्थ्यो। उनीहरू हरेक दिन अंगभंग भएर फर्किएका छन्। बाकसमा फर्किएका छन्। उनीहरूको लागि सरकारले के सोचेको छ?’, सिंहले भने, ‘आज यो देशलाई श्रीलंका हुनबाट बचाउने नेताहरू होइनन्, विदेशमा भएका नेपालीहरू हुन्। तर, उनीहरूको सुरक्षाका लागि सरकारले के गरेको छ? आज यही सरकारले अयोग्य लडाकुलाई करोडौं रुपैयाँ बाँड्न थालेको छ, त्यो पैसा करौडौं रुपैयाँ जो बाकसमा आएका छन्, अंगभंग भएका छन् उनीहरूका परिवारलाई दिनुपर्छ। बाँड्यो भने यो सरकारको सधैँ जयजयकार हुनेछ।’