काठमाडौँ । गोरखा अस्पतालको स्वर्ण जयन्ती समारोहको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम तय भएको छ । जिल्ला अस्पतालको स्वर्णजयन्ती कार्यक्रमको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल शुक्रबार गोरखा जाने छन् ।
शुक्रबार दिउँसो एक बजे प्रधानमन्त्री दाहालबाट अस्पतालको स्वर्ण जयन्ती उद्घाटन कार्यक्रम रहेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।
गोरखा जिल्ला अस्पताल २०२९ साल चैत्र महिनामा स्थापना भएको थियो । २०७९ चैत्र २४ गते ५० वर्ष पुगेको उपलक्ष्यमा स्वर्णजयन्ती मनाउन लागिएको हो । जर्मन सरकारको सहयोगमा करिब ३७ करोड लागतमा निर्माण भएको गोरखा अस्पतालले नयाँ भवनबाट सेवा दिन थालिसकेको छ ।
गोरखा अस्पतालमा डायललिस, एच्डीयु, थेरापी, स्त्री रोग, हाडजोर्नी रोग, सुरक्षित गर्भपतन, पाठेघर खसेका लगायतका लगायतका सेवाहरु उपलब्ध हुँदै आएको छ ।
त्यस्तै स्वर्ण जयन्तीको पुर्व सन्ध्यामा आज बिहिबार गोरखा अस्पताल सरसफाई कार्यक्रम राखिएको थियो । त्यस्तै भोली शुक्रबार विहान आठ बजे देखि १० बजे सम्म रक्तदान कार्यक्रम राखिएको छ । गोरखा अस्पतालले पहिलो पटक संचालनमा ल्याउन लागेको आइसीयुको सोही अवसरमा उद्घाटन गर्ने कार्यक्रम समेत रहेको ढकालले बताए ।
आवश्यक नर्स, डाक्टर व्यवस्था गरी आइसीयु सेवा संचालनमा ल्याउन लागिएको उनले बताए । श्यावप्रश्वासमा समस्या भएका, कोमामा गएका विरामी, रोगले च्यापेका विरामीको उपचारका लागि आइसीयु सेवा संचालनमा ल्याउन लागिएको उनले बताए ।