काठमाडौँ । मोरङका विभिन्न केन्द्रबाट एसईई परीक्षा दिँदै करिब दुई सय नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
जिल्लाका ३ परीक्षा कैनद्रबाट १ सय ९९ जना नक्कली परिक्षर्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले सिभिलखबरलाई जानकारी दिए ।
जसमा ग्रामथान गाउँपालिकास्थित सरस्वती माविमा ५२, केराबारी गाउँपालिकास्थित सार्वजनिक माविमा १ सय २७ र सुन्दरहरैंचा नगरपालिकास्थित जनता माविमा २० जना परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको डिएसपी दाहालले पुष्टि गरे ।
एकै दिन यतिका संख्यामा नक्कली परिक्षार्थी पक्राउ पर्नुका पछाडीको रहस्य के हो भन्ने सिभिलखबरको प्रश्नमा डिएसपी दाहाल भने ‘हिजो सरस्वती माविमा एक जना पक्राउ परेपछि आज हामीले सर्च अप्रेसन चलायऔं, ३ वटा स्कुलबाट मात्रै १९९ जना पक्राउ परेका छन् ।’
उनका अनुसार पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय बेलबारी लगायत आसपास बिभिन्न प्रहरी चौकीबा हिरासतमा राखेर अनुसन्धानको तयारी भइरहेको छ ।
दाहालका अनुसार प्रहरीले बुधबारबाटै परीक्षा भइरहेको केन्द्रमा सुक्ष्म ढंगबाट आफ्नो निगरानी बढाउने क्रममा नक्कली विद्यार्थी पक्राउ गरेको हो । यससँगै परीक्षा दिन लगाउन गिरोह नै सक्रिय भएको हुनसक्ने आशंकाबाट प्रहरीले अनुसन्धान सुरू गरेको उनले बताए ।
बुधबार खुल्लातर्फ विज्ञानको परीक्षामा नक्कली विद्यार्थी पक्राउ परेसँगै बिहीबार सामाजिक शिक्षाको परीक्षा दिने क्रममा यति ठूलो संख्यामा नक्कली विद्यार्थी पक्राउ परेका हुन् ।
मोरङका शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख टंक गौतमले परीक्षा दिएका र पक्राउ परेकालाई कानुनी कारबाही हुने जानकारी दिए ।
पक्राउ गरिएका अधिकांश विद्यार्थीको प्रवेश पत्रमा नाम सही भएपनि फोटो उप्काएर नक्कली विद्यार्थीले परीक्षा दिँदै आएको खुलेको उनले बताए ।