• शनिबार, साउन ९ २०८३

क्लिन्टन स्कुलका प्रिन्सिपलमाथी विद्यार्थी कुटपिटको आरोप, न्याय माग्दै अभिभावक महानगरमा


मंगलबार, चैत्र २१ २०७९
2K
Shares

काठमाडौँ । काठमाडौँको क्लिन्टन स्कुलका प्रिन्सिपल हिक्मत रायमाझीलाई विद्यार्थीमाथी कुटपिटको आरोप लागेको छ । विद्यालय स्थानान्तरण गर्न लागेको भन्दै चाबहिल स्थिल क्लिन्टन स्कुलका प्रिन्सिपल रायमझीलाई ५ कक्षामा अध्ययनरत मिसन रेग्मीमाथी कुटपिटको आरोप लागेको हो ।

गत आइतबार रायमाझीले आफ्नै स्कुलमा अध्ययनरत उनलाई निलडाम हुनेगरी कुटेको बुवा देवेन्द्र रेग्मीको आरोप छ । ‘मैले बाबुलाई २ बर्ष भयो क्लिन्टनमा पढाएको, यो बर्ष अर्कै स्कुलमा भर्नाको तयारी गरिरहेको कुरा सत्य हो’ उनले सिभिलखबरसंग भने ‘यो थाहा पाएर क्लिन्टनका प्रिन्सिपल सरले तँ किन अर्को स्कुल जान लागेको भनेर ड्याम्का ड्याम हान्नु भएछ ।’

आइतबारबाट सुरु भएको कक्षा ५ को अन्तिम परिक्षामा सहभागी हुन विद्यालय गएका रेग्मीलाई प्रिन्सिपलले ढाड र पिठ्यूमा कुटेको उनका बाबुले बताए । ‘स्कुलमा फाइनल इक्जाम दिन बाँकी नै थियो, मैले एलए स्कुलमा लगेर इन्ट्रान्स दिन लगाएको उहाँले थाहा पाउनु भएछ’ रेग्मीले भने ‘जाँच दिन गएको बच्चालाई अर्को स्कुलमा किन गएको भनेर पिट्न मिल्छ ?’

रेग्मीका अनुसार साँझ आफु कार्यालयबाट घर फर्कदा बच्चा सुतेको देखेपछि सोध्दा प्रिन्सिपल सरले कुट्नुभयो भन्दै डाम देखाएको उनले बताए ।

त्यसलगत्तै भोलीपल्ट आफु विद्यालयमा पुगेर सोध्दा प्रिन्सिपलले सरी भनेको समेत उनले सुनाए । ‘कुटेकोपनि होइन भन्ने अनि सरी पनि भन्ने, यो के नियत हो ?’ रेग्मी भन्छन् ‘म कानूनी उपचार खोज्छु ।’

कारबाहीको माग गर्दै बिभिन्न निकायमा उजुरी

आफ्नो छोरालाई प्रिन्सिपलले कुटेपछि बाबु देवेन्द्र रेग्मीले कारबाहीको माग गर्दै बिभिन्न निकायमा उजुरी दिएका छन् । उनले कुटपिट भएको भोलीपल्ट अर्थात चैत २० गते प्रहरी वित्त गौशालामा लिखित उजुरी दिए । सो लगत्तै प्रहरीले झनै प्रिन्सिपल रायमाझी र आफुलाई छलफलका नाममा बोलाएर सहमती गर्न दवाव दिएको उनको दावी छ ।

प्रहरीले सहमती गर्न दवाव दिएपछि उनी न्याय माग्न भन्दै काठमाडौँ महानगरपालिकाको शिक्षा विभाग र शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय पुगेका छन् । त्याहा समेत उनले विद्यालय र प्रिन्सिपल रायमाझीलाई कारबाहीको माग गर्दै लिखित उजुरी दिएका छन् ।

आरोप प्रमाणित भए कारबाही गर्छौ : अधिकृत सुवेदी

काठमाडौँ महानगरपालिका शिक्षा विभागका अधिकृत रामप्रसाद सुवेदीले अभिभावको आरोप प्रमाणित भए कारबाही गरिने बताए । सिभिलखबरसंगको कुराकानीमा सुवेदीले भने ‘अभिभावकको उजुरी आएको छ, हामी अध्ययन गर्दैछौ, हामी प्रिन्सिपललाई बोलाएर स्पष्टीकरण लिने प्रकृयामा छौ र अरु आवश्यकता अनुसार कारबाही अघि बढाउँछौ ।’

मिथ्या आरोप : प्रिन्सिपल रायमाझी

यता क्लिन्टन स्कुलका प्रिन्सिपल हिक्मत रायमाझी भने अभिभावको आरोपमा सत्यता नभएको दावी गर्छन् । परिक्षा दिन आएका मिसन रेग्मी शौचालयको अगाडी रहेको टायलमा चिप्लिएर लड्न खोज्दा आफूले समातेको र पछि किन चलेको भन्दै सामान्य पिटेको उनको दावी छ ।

‘टायलमा चिप्लिन खोज्दा मैले समातेर लड्नबाट जोगाएको हुँ, पछि सामान्य रुपमा प्याट्ट हिर्काएर नचल भनेको चाही हुँ’ प्रिन्सिपल रायमाझीले भने ‘यस्तो सानो बिषयमा अनावस्यक होहल्ला र प्रचार गर्नु आवस्यक छैन, यसमा मेरो कुनै दोष छैन ।’

बच्चाको ढाड र पिठ्यूमा निलडाम कसरी भयो भन्ने सिभिलखबरको प्रश्नमा उनले भने ‘निलडाम हाम्रो कारणले भएकै छैन, सबै कुरा स्कुलले कसरी जिम्मा लिन सक्छ ?’

साथै उनले विद्यार्थीले कुनैपनि विद्यालयमा स्थानान्तण हुन सक्ने अधिकारलाई आफूहरुले रोक्न नमिल्ने र रोक्ने कुनै मनाशय नभएको समत स्पष्ट पारे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार