सुदिप श्रेष्ठ
गोरखा । शहिद लखन गाउँपालिका ७ काउले भंगारका ४२ वर्षीय झलकबहादुर आले व्यावसायिक कृषिबाट स्वरोजगार बनेका छन् ।
दुई दशक वैदेशिक रोजगारीमा बिताएर फर्किएका आलेले चार वर्षअघि नेपाल आएर जेबी कृषी तथा पशुपन्छी फर्म सञ्चालनमा थिए । मेहेनत गर्ने हो भने स्वदेशमै आम्दानी गर्न सकिने उदाहरण उनले प्रस्तुत गरेका छन् ।
तरकारी, सुन्तला खेती, मौरी, बाख्रा र कुखुरा पालन गदै आएका आलेले कृषि फर्मबाट कम लगानीमा छिटो आम्दानी लिन सकिने बताए । ‘एउटा टनेलमा गोलभेँडा र अरु ठाउँमा तरकारी खेती गरेको छु,’ उनले भने, ‘यो बर्ष सुन्तला खेतिबाट २ लाख रुपैयाँ आम्दानी भयो ।’ सुन्तला खेतिलाई थप व्यवस्थित बनाउन उदेश्यले यस वर्ष कृषि ज्ञान केन्द्र गोरखाबाट ५० प्रतिशत अनुदानमा ३८० सुन्तला विरुवा सारेका छन् ।
उनले १२० किविका बिरुवा पनि लगाएको बताए । ३५ रोपनी जमिन सुन्तला र किबिका विरुवा थप गरेका आलेसँग फलफूलको वगैचा बिस्तार गर्दै लैजाने योजना छ । ‘सुन्तलालाई सानोमा हुर्काउन गा¥हो हुन्छ । ठुलो भएपछि सानोमा जस्तो दुख गर्नु पर्दैन’ उनले भने । विदेशमा हुने आम्दानीभन्दा स्वदेशमै सुरु गरेको व्यवसायबाट भएको आम्दानीले आफु सन्तुष्ट भएको उनी बताउँछन् ।
उनले अहिले कृषि पेसा अङ्गालेको आलेले महिनाको सरदर ४० हजार कमाईरहेका छन् । विदेशबाट आएर नेपालको माटोमा दुखः गरेर राम्रो आम्दानी गर्ने उदेश्यका साथ कृषि पेसा अङ्गालेको उनी बताउँछन् । उनले वषौंदेखि बाबुबाजेले गरिरहेको पेशालाई ब्यबसायीक बनाउने उदेश्यले ठाउँ र समय हेरेर यस कामलाई अगाडी बढाएको बताउँछन् । आलेले २०७६ सालदेखि मौसमी तरकारी खेति पनि गर्दै आएका छन् ।
तरकारी खेतिबाट पनि उनले मनग्य आम्दानी गरिरहेका छन् । उनले मौसम अनुसारको काउली, बन्दा, भिन्डी, करेला, घिरौला, भेँडे खुर्सानी लगाएतका तरकारी खेती गर्ने गरेका छन् । त्यसबाट पनि वार्षिक एक लाख भन्दा बढिको कमाई भएको उनी बताउँछन् । तर तरकारीले राम्रो बजार मुल्य नपाएको कारण उनी असन्तुष्ट देखिन्छ । आलेले केही वर्ष अघि देखि बाख्रा पालन व्यवसाय पनि गर्दै आईरहेका छन् ।
श्रीमतीले घर खर्च चलाउनका ५ वटा बाख्रा पाल्दै आएकीमा ती बाख्रासहित अन्य बाख्रा थपेर व्यावसायिक रूपमा अगाडि बढेका हुन् । अहिले उनको गोठमा ७ वटा माउ, तिन खसी, तिन पाठा पाठी, एउटा बोयर बोका गरी १४ वटा बाख्रा छ । बाख्रा पालनबाट यो वर्ष मात्र ६० हजारको आम्दानी गरेका छन् । कृषि बैकंले सहुलियत दरमा क्रण दिएमा ५० वटा बाख्रा पाल्ने उनको योजना छ ।
त्यसको लागी बारीको छेउछाउमा डाले घाँस समेत रोपिसकेको उनको भनाई छ । आलेले मौरी पालन पनि गर्दै आई रहेका छन् । उनको घरमा अहिले ५ वटा मौरीका घार छन् । मौरी पालनबाट वर्षाीक ४० हजारको आम्दानी हुने गरेको बताउँछन् । यस्तै उनले कुखुरा पालन पनि गर्दै आइरहेका छन् । आलेले अहिले २० वटा लोकल कुखुरा पालिरहेका छन् । कुखुरा पालनवाट पनि उनले वार्षिक ५० हजार आम्दानी गर्दै आइरहेका छन् ।
कुखुरा पालन लाई ब्यबस्थीत तरिकाले गर्न सके मनग्य आम्दानी गर्न सकिने आलेले बताए । व्यवसाय गर्नेलाई प्रोत्साहन स्वरुप स्थानीय सरकारले किसानमुखी कार्यक्रम ल्याएर सहयोग गरेमा किसानहरुलाई केही सहज हुने उनलाई लागेको छ । यस वर्ष माघेसंक्रान्तिमा भएको कृर्षी प्रर्दशनी उनलेको काउली तेस्रो, बोकामा दोस्रो, बन्दामा सान्तोना घोषित समेत भएको थियो । उनलाई नमूना कृषकको रुपमा गाउँपालिकाले पुरस्कार समेत दिएको थियो ।