• शनिबार, साउन ९ २०८३

शिक्षामा राई, श्रममा भण्डारी आउँदा स्वास्थ्यमा काँग्रेसले नाम पठाउन सकेन


शुक्रबार, चैत्र १७ २०७९
1.1K
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका नेता अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले सो मन्त्रालय सम्हालेका थिए ।

तर रास्वपा सरकारबाट बाहिरिएपछि लामो समयदेखि शिक्षा मन्त्रालय समेत प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाल्दै आएका थिए ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त भएका छन् ।

महोत्तरी–२ बाट निर्वाचित उनी २०४३ सालमा पहिलोपटक सहायक मन्त्री बनेका भण्डारी त्यसयता १५ पटक मन्त्री बनिसकेका छन् । यसपटक प्रचण्ड सरकारमा श्रम मन्त्री बनेका उनी १६औँ पटक मन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतलनिवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् ।

यता स्वास्थ्य मन्त्री भने नियुक्त हुन सकेको छैन । नेपाली काँग्रेसको भागमा परेको स्वास्थ्य मन्त्रालयमा को पठाउने भन्ने आन्तरिक सहमती जुट्न नसक्दा मन्त्री नियुक्तीमा ढिलाई भएको छ ।

प्रधानमन्त्री दाहालले कांग्रेसको सिफारिसमा चार, नेकपा एकीकृत समाजवादीका २ जना तथा आफ्नो दल माओवादी र जनता समाजवादी पार्टी जसपाबाट १-१ जनालाई मन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् ।

यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् । उनीहरुले शपथ लिएका हुन् ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भने मन्त्रालय फेरिएको छ । ११ पुसमा भौतिक पूर्वाधारमन्त्री भएका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार