• शनिबार, साउन ९ २०८३

भोलिदेखि एसईई परीक्षा, यस्तो छ तयारी


बिहिबार, चैत्र १६ २०७९
1.3K
Shares

काठमाडौँ । भोलि शुक्रबारदेखि एसईई परीक्षा सुरु हुँदैछ । देशभर २ हजार ३७ परीक्षा केन्द्रबाट विद्यार्थीहरुले परीक्षा दिने गरी व्यवस्थापन मिलाइएको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरेले जनाएको छ । कार्यालयका अनुसार परीक्षाको सम्पूर्ण तयारी सकिसकेको छ ।

यो वर्ष ५ लाख १६ हजार ५९५ जनाले परीक्षाका लागि रजिष्ट्रेशन फारम भरेकामध्ये ४ लाख ८४ हजार २२७ जना विद्यार्थीले परीक्षामा सहभागिताका लागि आवेदन दिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले सिभिलखबरसँग बताए ।

भोलिदेखि सुरु हुने परीक्षा सामुदायिक र संस्थागत गरी १२ हजार ८३ विद्यालयमा सञ्चालन गरिने भएको उनको भनाइ छ । जसमा परीक्षा केन्द्र प्रमुखलगायत गरी ७७ हजार ९९२ जना कर्मचारी खटिने छन् ।

७७ जिल्लामै पुग्यो प्रश्नपत्र

परीक्षा नियन्त्रक कार्यालयका अनुसार परीक्षाको तयारीस्वरुप देशभरका ७७ वटै जिल्लामा प्रश्नपत्र पुगिसकेको छ । देशका ७४ जिल्लामा केही हप्ता अघि नै र उपत्यकाका काठमाडौँ ललितपुर र भक्तपुरमा बुधबार प्रश्नपत्र पु¥याइएको परीक्षा नियन्त्रक श्रेष्ठले बताए ।

जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रश्नपत्र सुरक्षा संवेदनालाई ध्यानमा राखेर आज परीक्षा केन्द्रहरुमा लैजान केन्द्र प्रमुखहरुलाई जिम्मा लगाउने काम भइरहेको उनको भनाइ छ ।

जापानबाट पनि परीक्षार्थी सहभागी हुँदै

यस वर्षको एसईई परीक्षामा जापानबाट समेत परीक्षार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट १४ परीक्षार्थीहरु एसईईमा सहभागी हुन लागेका हुन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए । परीक्षाका लागि जापानमा एक परीक्षा केन्द्र तोकिएको छ ।

दृष्टिविहीन विधार्थीलाई होम सेन्टरको व्यवस्था

यस वर्षको एसईई परीक्षामा दृष्टिविहीन परीक्षार्थीलाई ‘होमसेन्टर’ को व्यवस्था गरिएको छ । दृष्टिविहिन विधार्थीको सहजतालाई ध्यानमा राखेर आफू पढेकै विद्यालयबाट परीक्षा दिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

स्रोत कक्षाका रुपमा सञ्चालन भएका र त्यहाँ अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुको असहजतालाई मध्यनजर गरेर सोही विद्यालयमा उपकेन्द्र तोकी परीक्षाको तयारी भइरहेको बताइएको छ ।

उनका अनुसार दृष्टिविहीन परीक्षार्थीको लागि स्रोत कक्षा सञ्चालन भइरहेको विद्यालयमा नै उपकेन्द्र कायम गरेर परीक्षा सञ्चालन गरिनेछ ।

यस वर्ष देशभरबाट ५५ जना दृष्टिविहीन परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन । जसका लागि उनीहरु नै अध्ययनरत २१ विद्यालयबाट परीक्षा दिने बव्यवस्था मिलाइएको कार्यालयको भनाइ छ ।

यो वर्ष छात्र परीक्षार्थीको सङ्ख्या बढी

हरेक वर्षको परीक्षामा छात्रभन्दा छात्राको सङ्ख्या बढी हुने गरेकोमा यो वर्ष भने छात्रको सङ्ख्या बढी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यो वर्ष ५ लाख १६ हजार ५९५ जनाले रजिष्ट्रेशन फारम भरेका मध्ये २ लाख ६० हजार ६७४ जना छात्र र २ लाख ५५ लाख ९१७ जना छात्रा रहेको बताइएको छ । तथ्याङ्क अनुसार यो वर्ष छात्राको दाँजोमा ४ हजार ७ सय ५७ जना बढी छात्रले एसईईको परीक्षा दिने तयारी गरिरहेका छन् ।

अघिल्लो वर्ष पाँच लाख १४ हजार नौ सय ७७ विद्यार्थी परीक्षामा सहभागी भएकामा दुई लाख ५७ हजार नौ सय २४ छात्रा थिए भने दुई लाख ५७ हजार ५३ जना छात्र परीक्षार्थी थिए । जसमा छात्रभन्दा ८७१ जनाबढी छात्राले परीक्षामा सहभागीता जनाएका थिए ।

अनुगमनमा कडाई

यो वर्षको एसईई परीक्षामा अनुगमनका नाममा असम्बन्धित व्यक्तिलाई प्रवेश गर्न निशेष गरिएको छ ।

अनुगमनको नाममा जो कोही परीक्षा हलमा प्रवेश गर्दा विद्यार्थीहरुमा मानिसक प्रभाव परेको र नतिजामा समेत त्यसको प्रभाव देखिएकाले परीक्षा नियन्त्रक कार्यालयले तोकेको वा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिको अनुमतीबिना जो कोहीलाई पनि परीक्षाहलमा प्रवेश गर्न रोक लगाइएको परीक्षा नियन्त्रक श्रेष्ठले बताए । त्यस्तै परीक्षा हलभित्र फोटो भिडियो खिच्नसमेत बन्देज लगाइएको छ ।

त्यस्तै परीक्षालाई मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न परीक्षा नियन्त्रणको कार्यालय गम्भिर रहेकोसमेत उनले बताए । जसका लागि हरेक जिल्लामा परीक्षा समन्वय समितिले आवश्यक शान्ति सुरक्षा परीक्षा सञ्चालन व्यवस्थापन अनुगमनको गर्ने काम गर्नेछ ।

त्यस्तै सातै प्रदेशका शिक्षा हेर्ने मन्त्रालय सचिवको अध्यक्षतामा पाँच सदस्यीय प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले प्रदेश भित्रको परीक्षालाई स्वच्छ, मर्यादित, व्यवस्थित ढङ्गबाट समन्वय गर्ने काम गर्नेछ ।

सबै शिक्षा विकास निर्देशनालयले शिक्षा विकास तथा समन्वय इकाइ र पालिकासँग समन्वय गरेर परीक्षाको मर्यादालाई कायम राख्न पहल गर्न अनुरोध गरिसकेको कार्यालयले जनाएको छ ।

त्यस्तै प्राविधिक धारका ५०५ विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि समेत अरु सरह नै केन्द्र तोकेर परीक्षा दिने व्यवस्था मिलाइएको श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार